दुर्घटनामा नेमकिपाका केन्द्रीय सदस्य शाहीको मृत्यु



काठमाण्डौ । बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको मृत्यु भएको छ ।

कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गएराति पौने ८ बजे कोहलपुरको विद्युतरोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिँदा उनी घाइते भएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

भे१च १६७२ नम्बरको निजी मालवाहक भ्यानले शाही सवार भे२प ३०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अञ्जिल शाहीपनि गम्भीर घाइते हुनुभएको प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए ।

भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच, बाँकेको पिपरीबाट कोहलपुरतर्फ जाँदै गरेकोे भे१ह ३४७७ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालक नारायण पौडेलको मृत्यु भएको छ । पिपरी निवासी पौडेलले चलाएको अटो रिक्सा अनियन्त्रित भई नालामा खसेको थियो ।

यता, पूर्व–पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोतीमा आज बिहान दाङबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ६३०१ नम्बरको बस आफैँ अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा परेर सामान्य घाइते भएका १२ जनाको कालीगण्डकी अस्पताल कावासोती र गम्भीर चोट लागेका चार जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।


क्लिकमान्डु