हात्तीलाई शिक्षा ! यी कुरा सिकाइन्छ

क्लिकमान्डु २०७५ कार्तिक २८ गते १२:१९ मा प्रकाशित

चितवन । सबैभन्दा ठूलो जनावरलाई साक्षर मान्छेले शिक्षा दिएर आफ्नो अनुकूलमा प्रयोग गर्नु आफैँमा अनौठो विषय हो । आफ्नो नाम मात्रै लेख्न सक्ने धेरै माउते छन्, जसले अजङ्गको हात्तीलाई शिक्षा दिएर तालीमप्राप्त बनाई मान्छेको अधिनमा काम लगाउँछन् ।

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् एवं तालीम केन्द्र सौराहामा वर्षेनी हात्तीलाई तालीम दिइन्छ । हात्तीका गुरु त्यही हात्ती चलाउने माउते हुने गर्दछन् । उनीहरुले अरु शिक्षा आर्जन गरेका छैनन् । औपचारिक शिक्षाका नाममा केबल आफ्नो नाम मात्रै लेख्न सक्छन् तर उनीहरु नै हात्तीको कुशल प्रशिक्षक हुन् ।

तालीम केन्द्रका प्रमुख बुधन चौधरीले आफ्नो जागिरे जीवनमा आठ वटा हात्तीलाई तालीम दिइसक्नुभएको छ । हात्ती प्रजनन केन्द्रमा जन्मिएका छावालाई काम लगाउन योग्य बनाउन तालीम दिने गरिन्छ । चौधरीका अनुसार प्रायः छावा हात्तीको उमेर दुईदेखि चार वर्ष पुगेपछि तालीम दिने गरिन्छ ।

तालीम नपाएका छावाले हात्तीसारका कर्मचारी र आगन्तुकलाई हान्ने र घाइते बनाउने डर हुन्छ । तालीम नदिएको छावा कुनै कारण बिरामी पर्न गएमा उपचार कार्यमा समेत अप्ठ्यारो पर्ने उनी बताउँछन् ।

छावा हात्तीलाई तालीम दिनु अघि विशेष विधिबाट देवीदेवताको पूजा गर्ने गरिन्छ । तालीमे छावा खवारीको खाँबोमा बाँधिन्छ । हात्तीका छावालाई तालीम दिने काम कठिन तथा रोमाञ्चक दुवै हुने चौधरी बताउँछन् ।

तालीमको सिलसिलामा सबैभन्दा पहिला छावालाई माउबाट छुट्याएर केही दिन अलग्गै राख्ने गरिन्छ । त्यसपछि छावाको कष्टप्रद दिन शुरु हुन्छ । दाना, आहार र पानीसमेत कम दिई साँझ बिहान खवारीमा डोरी लगाएर छावाको घाँटीमा बाँधिन्छ ।

चौधरीले अगाडि भने, “जसले गर्दा छावाले टाउको र सुँडको प्रयोग गरी तालीम दिनेलाई हमला गर्न सक्दैन ।” अगाडिको दुवै खुट्टा पनि धाँगोको डोरीले बाँधेर राखिन्छ । दिउँसोको समयमा तालीम दिइने छावाको घाँटीको डोरीमा दुवैतर्फ लामो डोरी जोडेर दुई वटा अनुभवी र बलिया हात्तीलाई समात्न लगाइने उनले बताए ।

पछाडि एक बलियो हात्तीलाई राखिन्छ । यसरी डोरी र तालीमप्राप्त हात्तीको सहायताले नियन्त्रणमा लिँदै हिँडाउने गरिन्छ ।

छावाको घाँटीमा एक माउत बसेर ठूलो चौरमा लगेर दायाँ र बायाँ हिँडाउने बसाउने, उठाउने, दायाँबायाँ घुम्ने मौखिक तथा साङ्केतिक आदेश दिएर सिकाइन्छ । साँझमा आगोको लपेटोले तर्साउने, छावाको शरीरमा चढ्ने, शरीरभरि मालिस गर्ने जस्ता क्रियाकलाप गरिन्छ ।

चार वटा हात्तीलाई तालीम दिइसकेका चतुरलाल चौधरीका अनुसार तालीमको क्रममा छावा हात्ती घाइतेसमेत हुने गर्दछन् । हात्तीका छावा अन्य प्रकारका जनावर, मोटर र असामान्य आवाज एवं गन्धसँग नडराउन भनेर अभ्यस्त गराउन सडकतिर पनि लैजाने गरिन्छ ।

चतुरलालका अनुसार केही दिन सडकतिर घुमाएपछि हात्ती अभ्यस्त हुने गर्दछन् । सामान्यतयाः एउटा हात्तीको छावालाई तालीम दिन २० दिनदेखि तीन महिनासम्म लाग्दछ ।

यसपश्चात् पनि छावाले माउतेबाट दिइने अन्य आदेश कामको सिलसिलामा सिक्दै जान्छन् । तालीम पूरा गरेपछि हात्तीको छावालाई फेरि पनि बोका, कुखुरा, परेवाको बलि दिई देवी देवताको पूजा गरेर तालीम सम्पन्न गर्ने प्रचलन अहिले पनि छ ।

हात्तीलाई स्थानीय थारू भाषामा तालीम दिइन्छ । तीन वटा हात्तीलाई तालीम दिइसकेका केन्द्रका माउत सन्तलाल पाख्रिनका अनुसार बसाउन ‘बैठ’, घुँडा खुम्च्याएर बसाउन ‘सरबैठ’, राम्रोसँग बाटो हेर्न देख, अगाडि हिँड्न ‘अगत’, टाउकोले धकेल्न ‘हिक्’, उठाएर मुखमा च्याप्न ‘उठासकल्’, टाउको झुकाइ अगाडिको खुट्टा खुम्च्याउन ‘झुक्’ शब्द प्रयोग गरिन्छ ।

त्यस्तै उठाउन ‘मैल’, सुताउन ‘सुत्’ पानी पिउने ‘छोप’, समातेर दवाउन ‘घरदाव्’, दिनलाई ‘दे’, यता हिँड ‘फर्कि इभर’, छोड्नलाई ‘छि’, रोकिनलाई ‘र’, बोकि हिँड्नलाई ‘छेउ’, खानलाई ‘दहिर’जस्ता भाषा छावालाई सिकाउने उनले बताए ।

जुनसुकै जातको माउत भए पनि हात्तीलाई स्थानीय थारु भाषामै तालीम दिने र काममा लगाउने गर्दछन् । नाममात्रै लेख्नेदेखि १२ कक्षा पढेकासम्म माउते रहेको केन्द्रका प्रमुख चौधरीले बताए ।

यदाकदा घटना हुने भएपनि यही तालीम उपयुक्त ठहरिएको उनको भनाइ छ । यस वर्ष तीन वटा छावालाई तालीम दिने तयारी गरिएको छ । गत वर्ष दुई वटालाई तालीम दिइएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल परम्परागत तालीम प्रभावकारी भएको बताउँछन् । औपचारिक शिक्षा नलिए पनि उनीहरुले परम्परागत ज्ञानबाट हात्तीलाई तालीम दिने गरेको ढकालको भनाइ छ । यही तालीम पाएका हात्तीले तिनै माउतेका भाषा र सङ्केत बुझेर संरक्षणदेखि पर्यटक डुलाउनेसम्म काम गर्दै आएको उनी बताउँछन् ।

शिक्षाविद् रमाकान्त सापकोटा हात्तीलाई पढाउने नभएर तालीम दिने भएकाले तालीम दिनका लागि औपचारिक शिक्षा नचाहिने बताउँछन् । केही वर्ष अघि जापानको एक विश्वविद्यालयका पशु विज्ञान अध्ययन गर्दै गरेका विद्यार्थीसँग सौराहामा भेट हुँदा उनीहरुले अध्ययन गरेअनुसार नेपाल, जापान र थाइल्याण्डका हात्तीको संज्ञानात्मक विकास फरकफरक भएको पाइएको आफूलाई जानकारी दिएको बताए ।

औपचारिक शिक्षा नलिए पनि तालीम दिने दक्ष रहेको भन्दै उहाँले उनीहरुको ज्ञान, सीपको अवमूल्यन गर्न नहुने बताउनुभयो । माउतेलाई थप शिक्षा दिएर हात्तीलाई परिस्कृत तालीम दिनुपर्ने संरक्षण क्षेत्रमा क्रियाशील विज्ञ बताउँछन् । रासस

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स