भैरहवा सेजमा १८ उद्योग स्थापना हुँदै, पूर्ण क्षमतामा विद्युत् दिन उद्योगीको माग




काठमाडौं । कहिले जग्गाको विवाद तथा कहिले विद्युत् नपाएर उद्योग स्थापना गर्न सकिदैन भन्दै बसेका उद्योगी तथा व्यवसायीले पछिल्लो पटक भैरहवा विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाको काम अगाडि बढाएका छन् ।

भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) का प्रमुख चण्डीप्रसाद भट्टका अनुसार भूवहाल सम्झौता गरेका १८ उद्योगी तथा व्यवसायीले उद्योग स्थापनाको काम अगाडि बढाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले सहज रुपमा विद्युत् उपलब्ध गराउने तयारी गरेपछि उद्योग स्थापनाको कामले गति लिएको हो । सरकारले निर्यात जन्य यद्योग स्थापना गर्ने गरी भैरहवामा २०५८ सालदेखि नै औद्योगिक क्षेत्र बनाउने निर्णय गरिएको थियो । पछि सोही औकद्योगिक क्षेत्रलाई सरकारले विशेष आर्थिक क्षेत्र (सेज) को नाम दिइ सञ्चालन गर्ने निर्णय गरेको थियो ।

रोजगारीको प्रवद्र्धन, आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सरकारले सेज सञ्चालनको अख्तियारी दिएको थियो । उद्योग स्थापनाको प्रक्रिया अगाडि बढेपछि सेजमा पछिल्लो दिनमा चहलपहल समेत बढेको छ ।

शक्ति मिनरल्स प्रालिका प्रबन्धक मीन ठकुरीले पनि आफूहरुले उद्योग स्थापनाको तयारी थालेको बताएका छन् । उनले आगामी डेढ महिना भित्र उद्योग स्थापना भइसक्ने र उत्पादन थाल्ने तयारी गरिएको बताए ।

सेज स्थापनाका लागि सरकारले ८५ करोड रुपैयाँ लगानी गरेको थियो । सेज भित्र १४ सय देखि ३७ सय वर्ग मिटरका ६९ वटा उद्योग स्थापना गर्न मिल्ने प्लट रहेका छन् ।

भूवाहाल सम्झौता भएका उद्योगले धमाधम उद्योग स्थापनाको काम सुरु गरेको र पछिल्लो दिनमा चहलपहल समेत व्यापक रुपमा बढ्दै गएको बताइन्छ ।

प्राधिकरणले अल्पकालीन व्यवस्था गरी उद्योगलाई विद्युत् उपलब्ध गराएको छ । पहिलो चरणमा केही उद्योग सञ्चालनमा आउनेछ्न । सेज पूर्ण रुपमा सञ्चालनमा आउनका लागि भने २५ मेगावाट विद्युत् जरुरी रहेको र त्यसका लागि आवश्यक प्रक्रिया समेत सुरु भइसकेको प्राधिकरणले जनाएको छ ।

सेज प्रवेश गर्ने प्रसारण लाइनमा स्थानीयबासीले सामुदायिक वन क्षेत्रको जग्गा प्रयोगमा अवरोध गरेका कारण पनि प्रसारण लाइन निर्माणमा ढिलाई हुँदै आएको थियो ।

रुपन्देहीको धकधहीमा प्राधिकरणले सवस्टेशन निर्माण गरिरहेको छ । सवस्टेशन र प्रसारण लाइएन निर्माणलाई सँग सँगै अगाडि बढाउने योजनामा प्राधिकरण रहेको छ ।

उद्योगी तथा व्यवसायीले पूर्ण क्षमतामा विद्युत् उपलब्ध गराइदिए आफूहरु उद्योग स्थापना गर्न समेत तयार रहेको बताउँदै आएका छन् । केही दिन पहिले नेपाल इन्जिनियर एशोसिएशनले आयोजना अन्तरक्रियामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भैरहवा सेजलाइृ आवश्यक विद्युत् उपलब्ध गराइदिने बताएका थिए । सोही कार्यक्रममा सेजका प्रमुख भट्टले तत्काल विद्युत् व्यवस्थापन गरिदिन आग्रह गरेका थिए ।

‘केही उद्योगले उद्योग स्थापना समेत थालेका छन्, धेरै उद्योग उद्योग स्थापनाका लागि तयार भएर सम्पर्कमा आएका छन्, तर हामीले उनीहरुले मागे जति विद्युत् दिन सक्ने अवस्थामा छैनौ, त्यसकारण समस्या उत्पन्न भएको छ,’ सोही कार्यक्रममा सेजका प्रमुख भट्टले भनेका थिए ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघले विद्युत्को सहज आपूर्ति भए उद्योग स्थापनामा कुनै समस्या नभएको र सबै उद्योगी सेजमा उद्योग स्थापनाका लागि आतुर रहेको बताउँदै आएको छ ।


क्लिकमान्डु