यस्तो गरेपछि पो बैंकहरु ऋण दिनै नसक्ने अबस्थामा पुगेछन्




काठमाडौं । बैंकहरुले आर्थिक बर्ष सुरु भएको पहिलो दुई महिना (साउन र भदौ) मा निक्षेप बृद्धिको तुलनामा कर्जा बृद्धि निकै बढाएपछि बैंकिङ क्षेत्रमा तरलता अभावको अबस्था आएको तथ्यांकले पुष्टी गरेको छ ।

सबै बैंकहरुले असोज मसान्तको कर्जा-निक्षेप-पुँजी अनुपात (सीसीडी रेसियो) सार्बजनिक गरेका छैनन् । साउन र भदौ महिनामा गरी ७ वटा बाहेक सबै बैंकले निक्षेप बृद्धिको तुलनामा कर्जा बृद्धि निकै धेरै बढाएका छन् ।

नेपाल राष्ट्र बैंक स्रोतले दिएको जानकारी अनुसार साउन र भदौ महिनामा स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआइ, हिमालयन, सिटजन्स बैंक इन्टरनेसनल, सनराइज, नेपाल इन्भेष्टमेन्ट र बैंक अफ काठमाडौंको मात्रै कर्जा बृद्धिदर निक्षेप बृद्धिदर भन्दा कम छ । बाँकी २१ वटा बाणिज्य बैंकहरुको भने निक्षेप बृद्धिको तुलनामा कर्जा बृद्धि निकै धेरै छ ।

गत असार मसान्तमा नै कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) नियामकीय सीमा नजिक पुगेपनि साउन र भदौ महिनामा बैंकहरुले निक्षेप बृद्धि कम भएपनि कर्जा बृद्धिलाई प्रोत्साहन गरेको पाइएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले साउन र भदौ महिनामा १४.७ प्रतिशतले निक्षेप बढाउँदा पनि कर्जा भने १.४३ प्रतिशतले घटाएको छ । यस्तै नेपाल एसबीआइ बैंकले सो अवधिमा १०.५२ प्रतिशतले निक्षेप बढाउँदा ६.२२ प्रतिशतले मात्रै कर्जा बढाएको छ ।

सो अवधिमा हिमालयन बैंकको निक्षेप ५ प्रतिशतले बढेपनि कर्जा भने करिब ४ प्रतिशतले मात्रै बढेको छ । सिटिजन्स बैंकको निक्षेप करिब ५ प्रतिशतले बढेपनि कर्जा बृद्धिदर भने साढे १ प्रतिशतभन्दा कमै छ ।

सनराइज बैंकको कर्जा र निक्षेपको बृद्धिदर करिब उस्तै छ । सनराइजले ४.६२ प्रतिशतले निक्षेप बढ्दा कर्जा ४.५३ प्रतिशतले बढाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप ३ प्रतिशतले बढ्दा कर्जा भने जम्मा १.७४ प्रतिशतले मात्रै बढेको छ । यस्तै बैंक अफ काठमाडूको निक्षेप २.१७ प्रतिशतले बढेको छ भने कर्जा १.२५ प्रतिशतले मात्रै बढेको छ ।

सरकारी लगानी रहेका बैंकहरुले पनि निक्षेप र कर्जाको बृद्धिदरलाई सन्तुलित ढंगले अगाडि बढाएका छैनन् । नेपाल बैंकको निक्षेप ६ प्रतिशतले बढीले घट्दा पनि उसले कर्जा भने करिब १ प्रतिशतले मात्रै घटाएको छ ।

यस्तै राष्ट्रिय बाणिज्य बैंकले ४.९ प्रतिशतले निक्षेप घट्दा उसले कर्जा भने २.७८ प्रतिशतले घटाएको छ । कृषि विकास बैंकको निक्षेप ३.७१ प्रतिशतले घटेको छ भने कर्जा १.२७ प्रतिशतले घटेको छ ।

बैंकहरुले निक्षेपको तुलनामा कर्जा धेरै बढाएका कारण उनीहरुको सीसीडी रेसियो ८० प्रतिशतको सीमामा पुग्न लागेकोले बैंकहरु थप ऋण दिन सक्ने अबस्थामा नभएको बताइरहेका छन् । निक्षेप बढेको अबस्थामा भने बैंकहरु कर्जा दिन सक्ने अबस्थामा फेरि पुग्नेछन् ।


क्लिकमान्डु