असोजमा बैंकको अवस्थाः ग्लोबल आइएमइको ठिकै, स्ट्याडर्ड चार्टर्डको हालत खराब



काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामै बैंकहरुले नाफा बढाएका छन् । मंगलबार वित्तीय विवरण सार्वजानिक गर्ने दुबै बैंकले नाफा बढाएका हुन् ।

असोज मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार ग्लोब आइएमइ बैंकले ५२ प्रतिशतले नाफा बढाएर ५१ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३३ करोड ३४ लाख रुपैयाँ कमाएको थियो ।

कर्जा प्रवाहमा आक्रमक देखिएको बैंकले यो असोज मसान्तमा १४ प्रतिशतले कर्जा विस्तार गरेको छ । तर, निक्षेप भने ६ प्रतिशतले मात्रै बढेको छ ।

गत वर्षको असोज मसान्तमा जम्मा ७७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको बैंकले यो असोजमा ५५ प्रतिशतले बढाएर १ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ ।

यो अवधिमा बैंकले १ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले प्रवाह गरेको कर्जामा खराब कर्जाको मात्रामा पनि केही सुधार आएको छ । गत वर्षको असोजमा १.५७ प्रतिशत रहेको खराब कर्जा यो असोजमा १.०५ प्रतिशतमा झरेको छ । ऋणको आकार बढेका कारण खराब कर्जाको मात्रा घटेको हुनसक्छ ।

बैंकको आधार व्याज दर भने कही बढेको छ । गत वर्षको असोजमा १०.५४ र गत असारमा १०.५५ प्रतिशत रहेको आधार ब्याजदर यो असोजमा १०.५९ प्रतिशत पुगेको छ ।

नाफा बढेपछि बैंकको प्रतिसेयर आम्दानी पनि ४.६६ रुपैयाँले बढेर २४ रुपैयाँ ११ पैसा पुगेको छ ।

त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि गत वर्षको असोजको तुलनामा यो असोजमा २४ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजानिक गरेको छ ।

गत वर्षको असोजमा ४७ करोड १२ लाख रुपैयाँ कमाएको बैंकले यो असोजमा ५८ करोड ४५ लाख रुपैयाँ कमाएको छ ।

यो बैंक पनि कर्जा विस्तारमा निकै आक्रमक देखिएको छ । निक्षेप ८ प्रतिशतले घट्दा समेत कर्जा भने १४ प्रतिशतले ब ढाएको छ ।
बैंकले ६५ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

बैंकले ८४ करोड २३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकको प्रति शेयर आम्दानी १८ रुपैयाँले घटेर ३१.६६ रुपैयाँमा झरेको छ भने आधार व्याजदर १.६७ प्रतिशतले बढेर ८.१४ प्रतिशत पुगेको छ।


पुष्प दुलाल