यी हुन् नेपालले विदेशीसँग सबैभन्दा धेरै किन्ने १० वस्तु



काठमाडौं । प्राय तपाईं/हामीले प्रयोग गर्ने अधिकांश बस्तुहरु विदेशबाट किनेर ल्याइएका हुन् । नेपालमा नुनदेखि सुन सबै विदेशीसँगै किनिन्छ ।

तपाईंले लाएको कपडा होस् या तपाईंले भान्छामा प्रयोग गर्ने रासन । हामीले विदेशीलाई बेच्ने बस्तुको तुलनामा विदेशबाट किनेर ल्याउने बस्तुको मात्रा अत्याधिक छ । जसकारण देशको ब्यापारघाटा दिनानुदिन कहालीलाग्दो तरिकाले बढिरहेको छ ।

स्वदेशमै उत्पादन बढाउन नसक्दा विदेशीको भर पर्नु परेको हो । यो रिपोर्टमा आज हामी नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुहरुको बारेमा केही जानकारी दिनेछौं ।

१.नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुमध्ये पहिलो नम्बरमा पेट्रोलियम पदार्थ पर्दछ । नेपालमा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ५६ अर्ब ६७ करोड ६८ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

२. दोस्रो नम्बरमा नेपालमा आयात हुने वस्तुहरुमा फलाम र स्टील रहेको छ । चालु आर्थिक वर्षको ३ महिनामा ४० अर्ब ३ करोड ३० लाख रुपैयाँ बराबरको फलाम तथा स्टील आयात हुने भन्सार विभागका तथ्यांक अधिकृत राम प्रसाद वाग्लेले बताए ।

३. तेस्रो नम्बरमा नेपालमा गाडीका पाटपुर्जाहरु आयात हुने गरेको भन्सारको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको ३ महिनामा २९ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको गाडी तथा गाडीका पाटपुर्जाहरु आयात भएको छ ।

४. आयात हुने क्रममा चौथो नम्बरमा मेसिनका सामानहरु बढी मात्रामा आयात हुने गरेको भन्सार विभागले जानकारी दिएको छ। मेसिनेरी सामानहरुका पाटपुर्जाहरु चालु आर्थिक वर्षको ३ महिनामा २८ अर्ब ६० करोड ९ लाख रुपैयाँ बराबरको आयात भएको छ।

५. नेपालमा आयात हुने सामाग्रीहरुमा पाचौँ नम्बरमा विद्युतीय मेसिन तथा साउन्डसिस्टमहरु रहेका छन । चालु आर्थिक वर्षको ३ महिनामा यस्ता विद्युतीय सामाग्रीहरु २१ अर्ब ९३ करोड ८३ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

६ आयात हुने क्रममा छैठौँ नम्बरमा एयरक्राफ्ट आयात हुने गरेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार चालु वर्षको ३ महिनामा अर्थात् साउन, भदौ, असोजमा १६ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ बराबरको एयरक्राफ्ट आयात भएको छ ।

७. सातौँ नम्बरमा प्लास्टी तथा प्लास्टीकका सामाग्रीहरु बढी आयात हुने गरेको भन्सारको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको ३ महिनामा १४ अर्ब ४३ करोड ३० लाख रुपैयाँ बराबरका प्लास्टीक तथा प्लास्टीक जन्य सामाग्रीहरु आयात भएको छ ।

८. यस्तै आठौँ नम्बरमा पथ्थर, धातु तथा बहुमूल्य धातुहरु आयात हुने गरेको वाग्लेले जानकारी दिए । उनका अनुसार यस्ता धातु तथा पथ्थरका बहूमूल्य सामाग्रीहरु चालु आर्थिक वर्षको ३ महिनामा १२ अर्ब ९९ करोड ९ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

९. नौँ नम्बरमा अन्नबालीहरु आयात हुने गरेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार चालु आर्थिक वर्षमा १२ अर्ब ९३ लाख रुपैयाँ बराबरको अन्नपात आयात भएको छ ।

१०. दशौँ नम्बरमा आयात हुने क्रममा औषधीहरु बढी मात्रामा आयात भएको छ । चालु आर्थिक वर्षमा ८ अर्ब ३५ करोड १९ लाख रुपैयाँ बराबरको औषधीहरु आयात भएको हो ।


पुष्प दुलाल