प्रमाणपत्र धितो राखेर शैक्षिक कर्जा लिन राष्ट्र बैंकको आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्र धितो राखी शैक्षिक कर्जा लिन आग्रह गरेको छ ।

बैंकले आज एक सूचनामार्फत् सरोकारवालालाई उक्त कर्जा लिन आग्रह गरेको हो ।

गत असोज ११ गते नै केन्द्रीय बैंकले सो कर्जा उपलब्ध गराउन सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरिसकेको छ ।

सहुलियतपूर्ण कर्जाएका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत भइसकेको छ ।

चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएअनुसार शिक्षित युवा, स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशिल, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा, भूकम्प पीडितको निजी आवास निर्माण एवम् व्यवसायिक कृषि तथा पशुपंक्षी जस्ता कर्जामा तोकिएको व्याज प्रदान गर्ने समेत उल्लेख छ ।

व्यवसायिक कृषि तथा पशुपंषी कर्जा ५ करोड रुपैयाँसम्म लिन पाइनेछ ।

यस्तै शिक्षित युवाले शैक्षिक प्रमाणपत्र धितो राखी ७ लाख रुपैया, विदेशबाट फर्केका युवा परियोजना कर्जामा १० लाख रुपैयाँसम्म लिन पाउने व्यवस्था कार्यविधिले गरेको छ ।

यस्तै महिला उद्यमशील कर्जा १५ लाख, दलित समुदाय विकास कर्जा १० लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख, भूकम्प प्रभावितको निजी आवास निर्माण कर्जा ३ लाखसम्म लिन पाउने व्यवस्था गरिएको छ ।

कर्जाको सीमा प्रति ऋणी ५ करोड रुपैयाँ भन्दा बढी भएमा केन्द्रीय समन्वय तथा अनुगमन समिति समक्ष स्वीकृतिको लागि समेत पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

कार्यविधिअनुसार योग्य र इच्छुक सर्वसाधारणले आफ्नो अनुकूल शिर्षकमा कर्जा लिई व्यवसाय , उद्यम सञ्चालन गर्न बैंकले आग्रह गरेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले पनि त्यस्ता व्यक्तिलाई नजिकको पायक पर्ने स्थानमा रहेका शाखा मार्फत सेवा दिन केन्द्रीय बैंकले आग्रह गरेको छ ।


पुष्प दुलाल