कृषि विकास बैंकबाट ऋण लिन महंगो



काठमाडौं । कृषि विकास बैंकबाट ऋण लिन महंगो हुने भएको छ । निजी बैंकहरुले आधार ब्याजदर (बेस रेट) घटाएर वित्तीय विवरण सार्वजानिक गरिरहेका बेलासरकारी लगानीको कृषि विकास बैंकले भने बेस रेट बढाएर वित्तीय विवरण सार्वजानिक गरेको छ ।

बैंकको बेस रेट बढ्ने वित्तिकै ऋणको ब्याज बढी हुन्छ । बैंकले बेस रेटमा बढाएर मात्रै ऋण दिनुपर्ने हुन्छ । जसअनुसार अब कृषि विकास बैंकबाट साढे १२ प्रतिशतभन्दा बढी ब्याजदरमा मात्रै ऋण पाइन्छ ।

गत वर्षको असोज मसान्तको भन्दा चालू आर्थिक वर्षको असोज मसान्तमा बैंकको बेर सेट १ प्रतिशत भन्दा धेरैले बढेर १२.३२ प्रतिशत पुगेको छ । गत वर्षको असोजमा बैंकको बेस रेट ११.२७ प्रतिशत थियो भने गत असार मसान्तमा ११.७३ प्रतिशत थियो । गत असारको भन्दा पनि बैंकको बेस रेट ०.५९ प्रतिशतले बढेको बुधबार प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

बढी ब्याज तिरेर निक्षेप उठाउनु परेकाले र अधिक कर्मचारीका कारण सञ्चालन खर्च महंगो भएकाले बैंकको लागत बढेको हो । त्यसको मार भने बैंकबाट ऋण लिने ऋणीलाई पर्ने देखिएको छ ।

गत असारको भन्दा यो असोज मसान्तमा बैंकको निक्षेप पनि घटेको छ । यो असोजमा बैंकले १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । जबकी गत असार मसान्तमा बैंकले १ खर्ब ४ अर्ब निक्षेप संकलन गरी १ खर्ब कर्जा लगानी गरेको थियो ।

यो ३ महिनामा बैंकको निक्षेप २ अर्बले घटेको छ भने कर्जा ३ अर्ब रुपैयाँले बढेको छ ।

गत वर्षको असोज मसान्तमा भने बैंकले ९९ अर्ब ३० करोड, कर्जा ८८ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

संस्थापक निक्षेपकर्ताले बढी ब्याजदर मागेकाले निक्षेप बढाउन नसकिएको बैंकले जनाएको छ ।

‘संस्थागत निक्षेपकर्ताले बढी ब्याजदर माग गरि मुद्दति निक्षेप नवीकरण गर्न अनुरोध गरेकोमा आधार दरमा चाप पर्नसक्ने दृष्टिगत गर्दा नविकरण नगरेका कारण निक्षेप दायित्वमा कमी आएको छ,’ बैंकले प्रकाशित गरेको विवरणमा भनिएको छ ।

बैंकले चालू आर्थिक वर्षको पहिलो ३ महिनामै ३९ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ३६ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब अर्ब १४ करोड रुपैयाँ थियो ।

तर, बैंकको प्रतिसेयर आम्दानी भने गत वर्षकोभन्दा यो वर्षको असोजमा केही बढेर २७ रुपैयाँ ३५ पैसा पुगेको छ ।

बैंकले प्रवाह गरेको कूल कर्जामा ३.९३ प्रतिशत खराब कर्जा थियो । खराब कर्जामा भने गत वर्षको भन्दा सुधार आएको छ । गत वर्षको असोज मसान्तमा बैंकको खराब कर्जा ४.६ प्रतिशत थियो ।

बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ छ भने रिजर्भ १० अर्ब २६ करोड रुपैयाँ छ ।

बैंकले राष्ट्र बैंकले तोकेको स्प्रेड दर भने मेन्टेन गरेको छैन । राष्ट्र बैंकले कर्जा र निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड दर) ५ प्रतिशतभन्दा बढी हुन नहुने भनेपनि कृषि विकास बैंकको स्प्रेड दर ५.१५ प्रतिशत छ ।


पुष्प दुलाल