बैंकमा आयो जागिरको बाढी, बैंकिङ करिअर बनाउन चाहनेका लागि अभूतपूर्व अवसर




काठमाडौं । असोज २४ गते मेघा बैंकले १ सय १४ जना कर्मचारी भर्ना गर्ने विज्ञापन प्रकाशित गर्यो ।

मेगाले कर्पोरेट अफिस र विरगञ्ज शाखामा गरी तीन जना म्यानेजर तहका कर्मचारीसहित १ सय १४ जना कर्मचारी मागेको थियो । अधिकृतस्तरमा ३८ जना र सहायक स्तरको पदमा ७३ जना कर्मचारी मेगालाई चाहिएको थियो ।

असोज २५ गते राष्ट्रियस्तरको विकास बैंक ज्योति विकास बैंकले ४० जना कर्मचारी आवश्यकताको विज्ञापन प्रकाशित गरेको थियो ।

ज्योतिले २० जना शाखा प्रबन्धक र २० जना रिलेसनसिप म्यानेजर तथा अप्रेसन इञ्चार्ज थप्न चाहेको थियो ।

कात्तिक १६ गते नेपाल बैंकले ३९६ जना कर्मचारी आवश्यकता रहेको विज्ञापन प्रकाशित गर्यो ।

यस्तै कात्तिक २० गते जनता बैंकले १ सय जना कर्मचारी चाहिएको विज्ञापन प्रकाशित गर्यो । जनताले जुनियर एसिस्टेन्ट पदका लागि जागिर खुलाएको हो । यो पद भनेको बैंकिङ अनुभव नभएका ब्यक्तिहरुका लागि पनि हो ।

असोज २४ गते नै सिभिल बैंकले विभिन्न पदमा ४९६ जना कर्मचारी चाहिएको सार्बजनिक जानकारी दियो । यसरी मागिएका कर्मचारीमा ब्रान्च म्यानेजरदेखि ट्रेनि असिस्टेन्टसम्मको पदको लागि थियो ।

कात्तिक १५ गते विज्ञापन प्रकाशित गरी प्रभु बैंकले एकैपटक १०० जनाभन्दा बढी कर्मचारीका भर्ना गर्न लागिएको जानकारी दियो ।

उसले २९ ब्राञ्च म्यानेजरसहित १०० भन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको छ । बैंकले ६ वटा प्रदेशका लागि कर्मचारी माग गरेको हो ।

एनआईसी एसिया बैंकले २ सय जनालाई जागिर दिने भएको छ। बैंकले ट्रेनि एसिस्टेन्ट पदका लागि २ सय जनाका लागि आवेदन खुल्ला गराएको हो ।

उपत्यका तथा उपत्यका बाहिरका ब्रान्चका लागि बैंकले एकसाथ आवेदन खुल्ला गरेको हो । आवेदकले स्नातकओतर ५० प्रतिशत मार्कस सहित उत्रीण गरेको हुनु पर्ने छ ।

माथि उल्लेख गरिएका विवरण अनुसार यो २ महिनाको बीचमा बाणिज्य बैंक र एउटा विकास बैंकले गरी साढे साढे १२ सय जति नयाँ रोजगारीको अबसर सिर्जना गरेका बुझिन्छ ।

अहिले बैंकहरुले शाखा विस्तारलाई उच्च प्राथमिकता दिएका कारण बैंकहरुमा जागिरको अबसर बढेको बैंकर्स बताउँछन् ।

किन यति धेरै मान्छे थप्दैछन् बैंक ?
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बैंकले शाखा विस्तार गर्न लागेकाले ठूलो संख्यामा कर्मचारीहरु चाहिएको बताउँछन् ।

‘कर्मचारी भनेका कुनैपनि संस्थाका खम्बा हुन्, खम्बा बलियो भएन भने कुनैपनि संरचना बलियो हुँदैन,’ शेरचनले भने ।

मेगा बैंकका प्रमुख सुचना अधिकारी तुल्सीराम सुवेदी पनि बैंकको ब्यवसाय विस्तारको लागि कर्मचारी थप गर्दै जानु परेको बताउँछन् ।

‘बैंकहरुको पुँजी बढेको छ, शाखा बृद्धि गर्नु परेको छ, बढ्दो ब्यवसाय र बढ्दो संजाल संचालनको लागि जनशक्ति पनि थप गर्दै जानुपर्ने आवश्यकता छ,’ सुवेदीले भने ।

उनले बैंकहरुको ब्यवसाय बार्षिक ४० प्रतिशतसम्म बढ्ने गरेकोले कर्मचारीको संख्या पनि बार्षिक १५ प्रतिशत जति थप्दै लानु परेको बताए ।

कुनै बेला हेलाको कमर्श, अहिले आकर्षक
कुनै बेला ‘छोरा विग्रिए कमर्श पढेर’ भन्ने भनाइ पनि थियो । तर, अहिले त्यही कमर्श पढेका ब्यक्तिले बैंकिङ क्षेत्रमा जागिरको पहिलो अवसर पाउने गरेका छन् ।

बैंकिङ क्षेत्रको जागिरलाई सुकिलो र टाइवाला जागिर पनि भनिन्छ । कमर्श विषय पढेकाहरु नै यो जागिरको लागि पहिलो प्राथमिकतामा परेका छन् ।

आफूले बैंकिङ क्षेत्रमा प्रवेश गर्दाताका कमर्श पढ्नेप्रति समाजमा त्यति सकारात्मक धारणा नरहेको मेगा बैंकका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका प्रमुख सुचना अधिकारी सुबेदी स्मरण गर्छन् ।

‘त्यो बेलामा छोरा विग्रिए कमर्शले भन्ने भनाइ निकै प्रचलनमा थियो, बैंकिङ क्षेत्रमा अहिले जति अवसर पनि थिएन, मान्छे पनि यति धेरै थिएनन्, अहिले अबसर र प्रतिस्पर्धा दुबै बढेको छ,’ सुवेदीले भने ।

उनले बैंकिङ करिअर सुरु गरेको २३ बर्ष भइसकेको छ ।


क्लिकमान्डु