नेपालका यी व्यवसायी, जसलाई सरकारले दियो २० लाख पर्यटक भित्र्याउने जिम्मा



काठमाडौं । व्यवसायी सुरज बैद्यले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना साकार पार्ने जिम्मा पाएका छन् । संस्कृति तथा पर्यटन मन्त्रालयले व्यवसायी बैद्यलाई नेपाल पर्यटन वर्ष २०२० को संयोजकमा नियुक्त गरेको छ ।

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । बैद्य संयोजकत्वको समितिले अब सरकारी लक्ष्य अनुसार पर्यटक भित्र्याउन विभिन्न कार्यक्रमहरु ल्याएर त्यसको ब्यापक प्रचारप्रसार गर्नुपर्ने भएको छ ।

बैद्य नेपालका चर्चित उद्योगी हुन् । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत भइसकेका उनी बैद्यज अर्गनाइजेशनका प्रमुख हुन् । सन् २०१९ मा पर्यटन लगानी सम्मेलन गरी ब्यापक प्रचारप्रसार गर्ने र २०२० मा लक्ष्य अनुसार पर्यटक भित्र्याउने योजना रहेको उनले सुनाए ।

‘यति महत्वपूर्ण जिम्मेवारी दिएकोमा सरकारलाई धन्यबाद दिन चाहन्छु, अब सरकारले लक्ष्य गरे अनुसारको पर्यटक भित्र्याउन लगानी सम्मेलन गरिनेछ,’ बैद्यले क्लिकमाण्डूसँग भने, ‘हामीले पर्यटक मात्रै भित्र्याएर हुँदैन, पर्यटनमा लगानी पनि भित्र्याउनु पर्छ । म सरकारले दिएको जिम्मेवारीलाई इमानदारिताका साथ पूरा गर्नेछु ।’


पुष्प दुलाल