अर्थमन्त्रीले भने-बैंकहरु अल्पकालमा रमाउँदा क्रेडिट क्रञ्च आयो, व्यवसायीहरु पारदर्शी हुनपर्यो



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरु अल्पकालमा रमाउँदा बैंकिङ प्रणालीमा लोनेवल फण्ड अर्थात क्रेडिट क्रञ्चको समस्या आएको बताएका छन् ।

विश्व बैंकले सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट २०१८ सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले खतिवडाले बैंकहरुलाई सर्ट टमका लागि खेल्नतिर रमाउन भन्दा पनि लङ टम हेर्न आग्रह गरे ।

‘बैंकहरु नै लङ टम नसोचेर सर्ट टममा खेल्न लागेका कारण मार्केटमा लोनेवल फण्ड छैन,’ उनले भने, ‘बैंकका साथीहरुले अब यसतर्फ पनि सोचिदिनु पर्यो ।’

त्यसैगरी, अर्थमन्त्री खतिवडाले नेपालको निजी क्षेत्र पारदर्शी नभएको भन्दै अझ धेरै पारदर्शी हुनुपर्ने बताए ।

‘हामी अब क्रमश करको दर घटाएर दायरा बढाउनुतर्फ लाग्छौं,’ उनले भने, ‘उद्योगी/व्यवसायी साथीहरु पनि पारदर्शी बन्नुपर्यो ।’

डुइङ बिजनेश रिपोर्टमा नेपाल गत वर्षभन्दा पनि ५ स्थान तल झरेको छ । यसमा अर्थमन्त्रीले गत वर्ष आएका कानूनहरुका कारण नेपालमा केही व्यावसायिक वातावरणमा केही असर गरेको बताए ।

‘हामी लोककल्याणकारी राज्य हौं, लोककल्याणकारी राज्यले श्रमजिबीलाई हेर्नुपर्ने हुन्छ,’ अर्थमन्त्रीले भने, ‘हाम्रा नीतिहरु पनि उद्योगीलाई भन्दा बढी श्रमिकलाई हेरेर बनाइएका छन्, त्यसको असर डुइङ बिजनेश रिपोर्टमा देखिएको हो ।’


पुष्प दुलाल