२९ म्यानेजरसहित १०० भन्दा बढीलाई प्रभु बैंकमा जागिर खुल्यो, सीइओ भन्छन्- सोर्सफोर्स लाग्दैन



काठमाडौं । प्रभु बैंकले एकैपटक १०० जनाभन्दा बढी कर्मचारीका लागि भ्याकेन्सी खुलाएको छ । बैंकले बिहीबार सार्वजानिक सूचनामार्फत् २९ ब्राञ्च म्यानेजरसहित १०० भन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको हो ।

बैंकले ६ वटा प्रदेशका लागि कर्मचारी माग गरेको हो ।

प्रदेश नं. १ मा ताप्लेजुङको फुङिलन, झापाको चन्द्रगढी, संखुवासभको खाँदबारी, उदयपुरको गाइघाट, मोरङको उर्लाबारी र तिनपैनी शखाका लागि शाखा प्रबन्धकसहित अन्य कर्मचारी माग गरेको हो ।

बैंकले प्रदेश नं. २ मा भने कर्मचारी मागेको छैन ।

त्यसैगरी, प्रदेश नं. ३ का लागि काठमाडौंको बनस्थलीस्थित ढुंगेधारा, किर्तिपुर, बल्खु, धर्मस्थली जरङ्खु, साँखु, ललितपुरको महालक्ष्मी नगरपालिका र चापागाउँ, भक्तपुरको बाल्कोट, सुकुलढोका र चितवनको पर्सामा शाखाका लागि म्यानेजरसहित अन्य कर्मचारी माग गरेको हो ।

४ नम्बर प्रदेशमा तनहुँको डुम्रे र गोर्खाको बारपाक शाखाका लागि शाखा प्रमुखसहित कर्मचारी माग गरेको हो ।

त्यस्तै, ५ नम्बर प्रदेशमा दाङको लमही, कपिलबस्तुको चन्द्रौटा, गुल्मीबो बलेटक्सार शाखाका लागि ब्राञ्च म्यानेजरसहित कर्मचारी माग गरेको हो ।

त्यसैगरी, ६ नम्बर प्रदेशमा डोल्पाको शे–फोक्सुन्डो, हुम्लाको खाप्रुनाथ शाखाका लागि म्यानेजरसहित कर्मचारी मागेको हो ।

त्यस्तै, प्रदेश ७ मा कैलालीको आर्यतारा र टिकापुर, कञ्चनपुरको जलहरी र पुनर्बास, अछामको साँफेबगर र डढेलधुराको नवदुर्गा गाउँपालिकामा म्यानेजरसहित कर्मचारी माग गरेको हो ।

बैंकले २९ ब्राञ्च म्यानेजर, रिलेशनसिप अफिसर र अपरेशन इन्चार्जका पदका लागि ५८ जना, एसिस्टेन्ट रिलेशनसिप अफिसर १० जना, जुनियर ट्रेजरी अफिसर पदका लागि १ जना र बीरगञ्ज शाखाका लागि जुनियर ट्रेड अफिसर १ जना मागेको छ ।

त्यस्तै, बैंकले केही टेलर र सिएसडीमा जुनियर एसिस्टेन्ट ट्रेनिमागेको छ ।

इच्छुकले १५ नोभेम्बर २०१८ साँझ ५ बजेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । अनलाइनमार्फत आवेदन फारम भर्न सकिने बैंकले जनाएको छ । त्यसका लागि आवेदनकले प्रभु बैंकको वेभसाइट http://prabhubank.com/career मा गएर फारम डाउनलोड गरी फारम भरेर बैंकको वेभसाइटमा रहेको एचआर डिपार्टमेन्टको इमेलमा इमेल गर्न सक्नेछन् ।

कुन पदका लागि कति योग्यता ?

बैंकले ब्राञ्च म्यानेजरका लागि कम्तिमा ब्यवस्थापनमा स्नात्तर उत्तिर्ण भई बैंक तथा वित्तीय संस्थामा क्रेडिट एण्ड सेल्स अपरेशन विभागमा ५ वर्ष काम गरेको अनुभव भएका २५ देखि ३० वर्षसम्मका व्यक्तिले मात्रै आवेदन दिन सक्ने जनाएको छ ।

त्यस्तै, रिलेशनसिप अफिसरका लागि व्यवस्थापनमा स्नातक उत्तिर्ण र २ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् ।
टेलरका लागि भने अनुभव मागिएको छैन । तर, कम्तिमा प्लस टु पास गरी २५ देखि ३० वर्षको उमेर भएकाले आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

अफिर ट्रेजरी ब्याचलर पास र ५ वर्षको अनुभवको भएकाले मात्रै आवेदन दिन सक्नेछन् ।

सीइओ भन्छन्- सोर्सफोर्स लाग्दैन

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनका अनुसार बैंकले आवेदनको क्षमता र दक्षताका आधारमा कर्मचारी छनोट गर्नेछ ।

आवेदकहरुलाई लिखित तथा मौखिक परिक्षा लिएर मात्रै छनोट गरिने भएकाले क्षमतावात र योग्य व्यक्तिहरु मात्रै छनोट हुनेछन् ।

‘प्रभु बैंकमा जागिर खानका लागि ठाउँमा आफ्नो मान्छे छैनन्, सोर्सफोर्स छैन भनेर बस्नु हुँदैन, यो बैंकमा सोर्सफोर्सले काम गर्दैन,’ शेरचनले क्लिकमाण्डूसँग भने, ‘ आफूसँग भएको क्षमता र योग्यताका आधारमा जागिर पाउने हो ।’

बैंकले शाखा विस्तार गर्न लागेकाले ठूलो संख्यामा कर्मचारीहरु चाहिएको उनको भनाइ थियो ।

‘कर्मचारी भनेका कुनैपनि संस्थाका खम्बा हुन्, खम्बा बलियो भएन भने कुनैपनि संरचना बलियो हुँदैन,’ शेरचनले भने ।


पुष्प दुलाल