नेकपा अध्यक्ष प्रचण्ड नयाँदिल्ली प्रस्थान
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन आज भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य दिनेछन् । अध्यक्ष प्रचण्डको अन्य कुनै राजनीतिक भेटघाट नरहेको बताइएको छ ।
फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निर्वाह गर्दै आएको छ । गोवामा हुने भनिएको उक्त सम्मेलन केही दिनअघि मात्र दिल्लीमा हुने टुङ्गो लागेको थियो ।
कार्यक्रममा भाग लिन आफूलाई दुई महिनाअघि नै निम्ता प्राप्त भएकोले त्यसतर्फ जान लागेको आज प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष प्रचण्डले जानकारी दिए ।
उनको बिदाइका लागि महासचिव विष्णु पौडेल, नेताहरू अग्नि सापकोटा, दीनानाथ शर्मालगायत विमानस्थल पुगेका थिए । उनी आजै बेलुका स्वदेश फर्कने छन् ।