जब सरकारी कर्मचारीले नै दशैंमा तलब पाएनन्…



जुम्ला । नेपालीको महान चाड बडादशैंमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन् ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख टेक हितानका अनुसार सङ्घीय संरचनापछि कर्मचारी तथा कार्यसम्पादनमा निकै उथलपुथल भएको छ । दशैं जस्तो चाडमा थप रकम त परै जाओस्, तीन महिनादेखि तलब नपाएको उनले बताए ।

‘आजभोलि भन्दाभन्दै आशैआशमा दशैं बित्यो, जिल्लाका धेरै कर्मचारी अन्यौलमा छन् दरबन्दी कहाँ, हाजिर कहाँ हुने, काम के गर्ने भन्ने कुराले निकै अन्यौलमा छन्,’ उनले भने ।

प्राविधिक खगेन्द्र भण्डारीका अनुसार तत्कालीन जिल्ला प्राविधिक कार्यालयका सातजना कर्मचारीले गएको असारदेखि तलब पाएका छैनन् । तलब आउँछ, भन्ने आशमा दशैं पनि बित्यो तर पाइएन ।

‘खर्च व्यवस्थापन गर्न निकै गाह्रो भयो अझै कहिले आउने हो निश्चित छैन,’ उनले भने ।
सम्बन्धित निकायमा पटकपटक पहल गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । रासस


पुष्प दुलाल