१२ करोडको लगानीमा तयार हुन थाल्यो बञ्जीजम्प



पर्वत । निर्माणाधीन विश्वकै दोस्रो अग्लो बञ्जीजम्पको निर्माण अन्तिम चरणमा छ ।
निजी क्षेत्रका युवा व्यवसायीको लगानीमा कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई ५२० मिटर लामो झोलुङ्गे पुलमा जोडेर २२८ मिटर उचाइको नमूना बञ्जीजम्पको निर्माण ८० प्रतिशत पूरा भएको छ ।

कुश्माका लगानीकर्ता नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी र सिन्धुपाल्चोकका राजु कार्की र फ्रान्सेली युवती फ्लोरेन्सलगायतको हालसम्म १२ करोड खर्च भइसकेको जनाएका छन् । बञ्जीमा युवा लगानीकर्ताबाहेक पनि प्रभु बैंकको हालसम्म पाँच करोड लगानी भएको कुश्मा शाखाका प्रबन्धक हेमन्तबाबु शर्माले बताए ।

संसारकै गहिरो खोंच बनाएर बगेको कालीगण्डकीमाथि पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरी अग्लो झोलुङ्गे पुल बनाइएको छ । यहाँ विश्वकै दोस्रो उचाइको बञ्जी बन्ने जिकिर लगानीकर्ताको छ । पाँच सय २० मिटर लामो र २२८ मिटर उचाइको सिङ्गल स्पान झोलुङ्गे पुलसहित कालीगण्डकीको खोंचमा बन्ने यो बञ्जी मुलुककै अन्य बञ्जी स्पटमध्ये नमूना हो । विसं २०७३ वैशाखमा निर्माण शुरु भएको बञ्जीसँगै उनीहरूले स्काइ साइक्लिङ स्वीङ (लठ्ठामा मच्चिने पिङजस्तो खेल) र रिसोर्ट समेतको सञ्चालन तयारी गरेका छन् ।

द क्लिफ प्रालिमार्फत यी सबै संरचनामा लगानी गरिएको लगानीकर्ताले बताएका छन् । क्लाम्पिङ रिसोर्ट सञ्चालन गर्न बलेवामा २५ रोपनी जग्गामा संरचना निर्माण भइरहेको सञ्चालक जोशीले जानकारी दिनुभयो । बञ्जीजम्प विश्वकै दोस्रो तथा स्काइ साइक्लिङ र स्वीङ विश्वकै अग्लो हुने जिकिर लगानीकर्ताको छ । विश्वकै अग्लो बञ्जी चाइनामा छ”, कार्कीले भने, “हामीकहाँ हुने स्काइ साइक्लिङ र स्वीङ विश्वमै अग्लो हुनेछ ।”

बञ्जी निर्माणतर्फ कन्स्ट्रक्सनको जिम्मा लिएको प्यारामाउन्ट कन्स्ट्रक्सनले अबको तीन महीनाभित्र निर्माण सक्ने जनाएको छ । प्यारामाउन्टका कम्पनी लिडर मनोजकुमार चौधरीले सरासर काम गर्न पाए तीन महीनामा सबै सकेर कम्पनीलाई जिम्मा लगाइने बताए । रासस


क्लिकमान्डु