नेपालमा मात्र होइन, अन्यत्र पनि मनाइन्छ दशैं, यस्ता ७ अनौठा चलन

क्लिकमान्डु २०७५ असोज ३१ गते १३:४० मा प्रकाशित

काठमाडौं । सबैभन्दा लामो छुट्टी, सबैभन्दा धेरै आर्थिक गतिविधि हुने, मिठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने समय । अनि देश विदेशबाट आफन्त जम्मा हुने मौका, आशीर्वाद र शुभेच्छा साटासाट अवसर । सबै नेपालीमाझ दशैंको गहिरो प्रभाव छ । धार्मिक आस्था नहुनेको पनि सामाजिक आर्थिक सम्बन्ध छ यो चाडसँग ।

त्यसो त देशभित्रै पनि दशैं मनाउने शैलीमा धेरै अन्तर छन् । पुर्वमा दशमीको दिन देखि कोजाग्रत पूर्णिमासम्म नै टिकाको चलन छ । तर पश्चिममा धेरै जसोले दशमीको दिन मात्र टिका लगाउँछ्न् । समुदाय अनुसार पुजा र खानपानमा पनि धेरै अन्तर छ ।

नेपाल बाहेक भारत, बङ्गलादेश, बर्मा, मलेसिया जस्ता थुप्रै देशमा दशैँ मनाइन्छ । तर सबै ठाउँको चलन उस्तै छैन्, हामीलाई अनौठो लाग्ने गरी संसारभर फरक ढंगले मनाइन्छ दशैं । कहाँ कहाँ कसरी मनाइन्छ त ?

१. काश्मीरः लगातार नौ दिन उपवास

नवरात्री पर्वको रूपमा भारतको काश्मीर क्षेत्रका हिन्दुहरूले दशैं मनाउँछन् । दशैंलाई निकै पवित्र चाडको रूपमा लिइन्छ । बालबालिका बाहेक घरका सबै सदश्यले ९ दिनसम्म पानी मात्र खाएर उपवास बस्ने चलन छ । हरेक दिन खीर भवानी देवीको पूजा गरिन्छ ।

२. तामिल नाडुः तीन देवीको बराबर पुजा

भारतको तामिल नाडु, कर्नाटक, आन्ध्र प्रदेशमा दशहराको नाममा नौ दिनसम्म दशैं मनाइन्छ । अनौठो कुरा के छ भने उनिहरूले नौ दिन मध्ये तीन(तीन दिन छुट्टा छुट्टै देवीको पुजा गरिन्छ । सुरको ३ दिन लक्ष्मीको, त्यसपछी ३ दिन सरस्वतीको र बाँकी ३ दिन दुर्गाको पुजा धुमधाम गरिन्छ ।

३. गुजरातः नौ दिन गर्बा नाच

गुजरात क्षेत्रमा नवरात्रीको नामले परिचित छ दशैं । नौ दिनसम्म हरेक रात गर्बा नाच्ने चलन छ । महिला पुरुष सँगै नाचिने यो नाँचमा अत्यन्तै आकर्षक पहिरनको प्रयोग हुन्छ । दुर्गाको मुर्ती, तस्वीर छेउमा राखी दिप प्रज्वलन गरी नाच नाचिन्छ ।

४. उत्तर भारतः रामलिला

उत्तरप्रदेश, बिहार, उत्तराखन्ड र मध्यप्रदेश क्षेत्रको दशैं दुर्गा माता भन्दा भगवान राममा बढी केन्द्रित छ । नौ दिनसम्म तुलसीदासले लेखेको रामचरित्रमानसमा आधारित भएर रामलिलाको प्रर्दशन हुन्छ । बिहारको सितामाडीको जनावर, हस्तकलाका सामान र घरयासी सामान किनमेलको निकै ठूलो मेला लाग्ने गरेको छ ।

५. हिमाञ्चल प्रदेशः विशाल धार्मिक यात्रा, रघुनाथको पुजा

हिमाञ्चल क्षेत्रवासीले दुर्गाको अलवा स्थानी देवता रघुनाथको पनि भव्य पुजा गर्छन । हजारौं सहभागी भएर झकिझकाउ पारेका देवताका मुर्ति बोकेर यात्रा गरिन्छ । यात्रामा नाँच गान पनि गरिन्छ ।

६. बंगलादेश र पश्चिम बंगालमा ५ दिन मात्र

दसहराको नाममा पश्चिम बंगालमा ५ दिन मात्र दशैं मनाइन्छ । ठाउँठाउँमा दुर्गा भगवतीका भव्य र आकर्षक मुर्ति निर्माण गरिन्छ । मिठाई र मिठामिठा परिकार पकाएर खाने चलन छ । बंगलादेशमा पनि हिन्दुहरू पाँच दिनको नै दशैं मनाउँछ्न । राजधानी ढाका लगायतका ठाउँमा देवी दुर्गाको विशाल मन्डप बनाइएको हुन्छ । अन्तिम दिन नदीमा लगेर विसर्जन गर्ने चलन छ ।

७. महाराष्ट्रः दशौं दिन सरस्वती पुजा

महाराष्ट्र क्षेत्रमा दशैंको नौ दिन दुर्गाको पुजा गरिन्छ भने दशौं दिन सरस्वतीको । यो दिन स्कुल पढ्ने विद्यार्थीले सरस्वतीको आर्शिवाद माग्दै भव्य रूपले पुजा गर्छन् । नयाँ घर किन्न, घर प्रवेश गर्न र बिहेवारिका लागि यो दिन उपयुक्त मानिन्छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स