सावधान चङ्गा उडाउँदा यी कुरामा ध्यान दिनुहोस्, नत्र…



काठमाडौ । दशैतिहार चङ्गा उडाउने समयको रुपमा पनि चिनिन्छ । बर्षायाम सकिएपछिको रमाइलो समयमा पर्ने दशैतिहार जस्ता महान चाडले थप रौनकता थप्छन् । शिरशिर बताससँगै बच्चादेखि बुढासम्म चङगा उडाएर रमाउने चलन छ । अझ बच्चाबच्चीहरु त कहिले परीक्षा सकिएला र मज्जाले चङगा उडाएर रमाउला भन्ने खुल्दुलीले पिरोलीरहेको हुन्छ ।

चङ्गा उडाउदा रमाइलो त हुन्छ नै तर केही कुरामा ध्यान दिइएन भने यसले ज्यान समेत लिन सक्छ । चङगा उडाउदा अलिकति सावधानी नअपाउदा ज्यान गएका धेरै उदाहरणहरु छन् ।
आफैले चङगा उडाउँदा होस वा बालबच्चाले चङगा उडाउदा निम्न कुरामा ध्यान दिन अत्यन्तै जरुरी हुन्छ ।

* मानिसहरुको जमघट भएको ठाउँमा चङगा नउडाउनुहोस् । यस्तो ठाँउमा चङगा उडाउदा जमघटमा बसेका मानिसलाई छलफलमा असजिलो हुन्छ । साथै आफैले पनि खुलेर चङगा उडाउन पाइँदैन ।

* गाडीको भिडभाड हुने ठाउँमा बच्चाहरुले चङगा उडाइरहेको पाइन्छ । यसरी बाटोमा चङगा उडाउदा दुर्घटना हुने र ज्यान जाने सम्म खतरा रहन्छ । तीव्र गतिमा आएका गाडीहरु कहिलेकाँहि चाहेर पनि भनेको ठाउँमा रोक्न सक्दैनन् । कहिले त अकस्मात ब्रेक लगाउन पर्दा ड्राइभरको होस उड्ने, ब्रेक फेल हुने गरेको र यसले नचाहादा नचाहादै पनि दुर्घटना भएको धेरै उदाहरणहरु छन् ।

* चङगा उडाउदा कहिल्यै पनि एक्लै नउडाउनुहोस । एक्लै चङगा उडाइरहेको बेला अनियन्त्रित भइ कतै लडने ठोकिने हुनसक्छ ।

* यदि तपाई घरको छतबाट चङगा उडाउदै हुनुहुन्छ भने बलियो र उचाइ भएको बार भएको छतबाट मात्र उडाउनुहोस । कमजोर अथवा बार नै नभएको छतबाट चङगा उडाउँदा माथि हेरेर चङगा उडाउदा छतको छेउमा पुगि लड्ने डर हुन्छ । घरको छतबाट चङगा उडाउदा लडेर मृत्यु समेत भएका समाचारहरु तपाइ हामीले सुनेका छौं ।

* विद्युतीय लाइन, रेडियो, टिभिको एन्टिना नभएको ठाउँमा चङगा उडाउनुहोस् ।

* हवाइमैदानको वरपर चङगा उडाउदा निकै सावधानी अपनाउनुहोस् । सकेसम्म हवाइमैदानको कहि किलोमिटर वरिपरि चङगा नउडाएको राम्रो मानिन्छ । चङगा र हवाइजहाज एक आपसमा ठोकिने डर धेरै हुन्छ । यसरी चङगा र हवाइजहाज एक आपसमा ठोकिएको खण्डमा दुर्घटना भइ धनजनको क्षति हुन्छ ।

*आवश्यकता भन्दा धेरै हावा चलेको बेला चङगा नउडाउनुहोस । अनियन्त्रित हावा चलेको बेला चङगा उडाउदा विभिन्न घटनाहरु हुने सम्भावना रहन्छ ।

* समथर मैदान वा ठाउँमा उभिएर मात्र चङगा उडाउनुहोस् । खाल्डाखुल्डी भएको ठाउँबाट चङगा उडाउदा लडने, हातखुट्टा भाचिने डर हुन्छ ।

* चङगा उडाउदा चङगा उडिरहेको ठाउँमा चरा उडिरहेका छन छैनन ख्याल गर्नुहोस् । चङगामा चरा अल्झिएमा चरा घाइते हुने र मर्ने सम्भावना हुन्छ ।


पुष्प दुलाल