नयाँ नोट फोहोर हुन नदिन यसो गर्नुस्, झुत्रो भए के हुन्छ ?



काठमाडौं । दशैंतिहार जस्ता चाडबाडमा पुजाआजामा नोटको प्रयोग गरिने हुँदा रङ लत्पत्याउने, मन्दिरमा दूध वा पानीसँगै नोट चढाउने गर्दा पनि नोट फोहोर हुने गर्छ । यसरी नोट फोहोर वा झुत्रो हुँदा देशलाई मोटो रकम नोक्सान हुन्छ ।

खासगरी दशैंतिहार र छठ जस्ता चाडका बेला नेपालमा धेरै नयाँ नोट चलनचल्तीमा आउँछन् । यसरी चाडबाडमा चलनचल्तीम आएका नोट फोहोर वा झुत्रो भएर फर्किने समस्या रहेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी बताउँछन् ।

दशैंतिहार र छठका लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ भन्दा बढी नयाँ नोट नोट बजारमा पठाएको छ ।

मन्दिरमा सुख्खा नोटमात्रै चढाउने

त्यसैले यस्ता चाडाडमा विषेश सतर्कताका साथ नयाँ नोट चलाउनुपर्छ । नोटलाई फोहोर हुनबाट जोगाउन मन्दिरमा चढाउँदा सुख्खा नोटमात्रै चढाउने र नोट चढाएको ठाउँमा दूध वा पानीले नभिजाउन शिवाकोटी आग्रह गर्छन् ।

खामभित्र हालेर दक्षिणा दिने

त्यतिमात्रै होइन, टिका लगाएर दक्षिणा दिँदा नोटमात्रै नदिई खाम लगाएर दिए नोटको सुरक्षा हुने शिवाकोटीको तर्क छ ।

‘यो दशैंदेखि आशिर्वाद दिँदा खामभित्र सफा नोट राखेर आशिर्वाद दिने चलन बसाल्नु पर्यो,’ उनले भने ।

थैली र पटुकामा नराख्ने

गाउँघरतिर थैली र पटुकामा नोट पोको पारेर राख्ने भएकाले पनि नोटहरु झुत्रा र पुराना हुने गरेको छ। त्यसरी थैली वा पटुकामा नराखी नोटलाई नखुम्चिने गरी पर्समा राख्न शिवाकोटी आग्रह गर्छन् ।

नोटको आयु कति ?

डेपुटी गभर्नर शिवाकोटीका अनुसार हिफाजत गरेर नचलाएका कारण हाल नेपाली नोटहरुको सरदर आयु साढे ३ वर्षमात्रै हो । कार्ड र चेकको प्रयोग बढाउने हो भने नोटको आयु ५ देखि १० वर्षको हुने उनी बताउँछन् ।

नगदको कारोबार बढी हुँदा नोटको आयु घटेको र त्यस्तो कारोबार असुरिक्षत हुने भन्दै राष्ट्र बैंकले नोटको प्रचलन घटाउने नीति लिँदै आएको छ ।

नोट भनेको राष्ट्रको पहिचान भएकाले यसको सुरक्षा गर्नु सबै नागरिकको दायित्व भएको उनको भनाई थियो ।

नोट झुत्रो भए के हुन्छ ?

सफा नोटको नीति लिएको राष्ट्र बैंकले यसअघि नै पटकपटक बैंक तथा वित्तीय संस्थाहरुलाई छानेर राम्रा नोट मात्रै बजारमा पठाउन निर्देशन दिइसकेको छ । जसअनुसार चलन चल्तीमा पठाउन नमिल्ने नोटहरुमा बैंकहरुले रातो ट्याग लगाएर राष्ट्र बैंकलाई पठाउनुपर्छ । र, त्यस्ता नोटलाई राष्ट्र बैंकले जलाएर नष्ट पार्छ ।


पुष्प दुलाल