दशैंमा अष्ट्रिजको मासु खाने बढे, स्वास्थ्यलाई के हुन्छ फाइदा ?



भैरहवा । दशैँ लागेसँगै अष्ट्रिज चराको मासुको माग बढेको छ । अष्ट्रिज चराको मासु स्वास्थ्यको लागि लाभदायिक र फरक स्वाद रहेकोले पनि मासुको माग बढेको हो ।

दशैँअघि दैनिक २ टन बजारमा खपत हुँदै आएको अष्ट्रिज चराको मासु दशैँ लागेसँगै दैनिक ५ टन खपत भइरहेको अष्ट्रिज नेपाल प्रालीका संचालक सीपी शर्माले जानकारी दिए । उनले बजारमा दैनिक ५ टना मासु खपत भइरहेपनि पोखरा लगायतका ठूला शहरहरुमा माग अनुसारको मासु पुर्याउन नसिकएको बताए ।

उनले दशैँमा उपभोक्तालाई स्वादिष्ट मासु सहज रुपमा उपलब्ध गराउने उद्देश्यले दैनिक ५ टन मासु उत्पादन गरी बजारमा पठाईरहेको बताए ।

रुपन्देहीको तिलोत्तमा नगरापलिका १७ स्थित रहेको प्रालिले दशैँलाई लक्षित गरी बजारमा विक्रीका लागि मासु पठाउन सुरु गरेको छ । अघिल्लो वर्षमा दशैँमा एक सय टन बढी मासु विक्री गरेको प्रालिले यस वर्ष दैनिक ५ टनका दरले बजारमा पठाउँदै आएको छ ।

पर्व लक्षित गरी भुटुवा, हड्डीसहित र हड्डी बिनाको मासु गरी तीन प्रकारको मासु बजारमा पठाइरहेको संचालक शर्माले बताए ।

प्रालिले मासु आफ्नै फर्ममा रहेको स्तरीय बधशालामा काटेर प्याकेजिंग गरी बजारमा पठाउने गरेको छ । अष्ट्रिचको मासु देशका प्रमुख शहरहरु बुटवल, भैरहवा, काठमाण्डौं, दाङ्ग लगायतका स्थानमा पठाउने गरेको छ ।

बिशेष गरी भाटभटेनी डिपार्टमेन्टल स्टोरहरु, बिग मार्ट तथा अन्य डिपार्ट मेन्टल स्टोर, साना ठुला मार्टहरु र नाम चलेका फ्रेस हाउसमा सहजै पाइने व्यवस्था मिलाइएको प्रालीले जनाएको छ ।

कम क्यालोरी, क्लोस्टोरको मात्रा निकै कम हुनु, बोसो नहुने, भिटामिन प्रशस्त पाइने भएकाले पनि अष्ट्रिचको मासु अन्य मासुजन्य पदार्थ भन्दा निकै स्वास्थ्यबद्र्धक हुने संचालक शर्माले दावी गरे । यसमा ओमगा (भिटामिन) ३, ६ र ९ पाउने भएकोले यसले शरिरमा भएको बोसो घटाउन समेत मद्दत पुग्ने उनको भनाई छ ।

ब्लडप्रेशर, मुटुका रोगीहरूलाई पनि अष्ट्रिचको मासु निकै लाभदायक हुने चिकित्सकहरु बताउँछन् । अष्ट्रिचको मासु तयार गरी १८ डिग्री सेन्टिग्रेडको तापक्रममा राखेर ६ महिनासम्म प्रयोग गर्न सकिन्छ ।

रुपन्देहीसँगै दाङको विजौरीमा समेत अष्ट्रिच पालन गर्दै आएको शर्माले दशैँकै लागि मासु खान मिल्ने ६ हजार अष्ट्रिच चराहरु तयारी राखेको जनाएको छ ।

हड्डी बिनाको मासु प्रतिकेजी १ हजार ५ सय ९० रुपैया र हड्डी सहितको मासु प्रतिकेजी ९ सय ७० रुपैयाका दरमा मासु बजारमा उपलब्ध रहेको प्रालिले जनाएको छ ।

२०६५ सालमा ४० करोडमा सुरु गरेको अष्ट्रिज चराको व्यवसायीक पालन अहिले २ अर्बको लागतमा पुगेको प्रालीले जनाएको छ ।


पुष्प दुलाल