बैंकहरुले बचतमा ५ % भन्दा कम र मुद्दतिमा १० % भन्दा बढी ब्याज नदिने



काठमाडौं । बैंकहरुबीच ब्याजदर घटाउने समहति भएको छ । नेपाल बैंकर्स एशोसिएशनको पूर्ण बैठकले ब्याजदर घटाउने सहमति गरेको हो । बैठकमा २८ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरु उपस्थित थिए ।

बिहिबार बसेको संघको पूर्ण बैठकले संस्थागत मुद्दति निक्षेपमा १० प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति भएको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।

‘मुद्दतिमा १० प्रतिशत र बचतमा ७ प्रतिशत ब्याज दिने सहमति भएको छ,’ सीइओ केसीले क्लिकमाण्डूसँग भने, ‘र, बचतमा ५ प्रतिशतभन्दा कम ब्याज नदिने पनि समति भएको छ ।’

यसअघि मुद्दति निक्षेपमा साढे १० प्रतिशतसम्म ब्याज दिन पाइने सहमति थियो भने बचतको तल्लो ब्याजदर तोकिएको थिएन ।

ब्याजदर धेरै महंगो भयो भने त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्ने भएकाले आफूहरुले यस्तो सहमति गर्नु परेको उनले जानकारी दिए ।

पछिल्ला दुई तीन हप्तामा केही बैंकहरुले सहमति तोडेर बढी ब्याज दिन थालेका थिए । कर्जा विस्तारको तुलनामा निक्षेप बढ्न नसकेपछि बैंकहरुले निक्षेप आकर्षित गर्न सहमति तोडेर बढी ब्याज दिएका हुन् ।

बैंकरहरुबीच भएको भद्र सहमति तोडिन थालेपछि संघले पूर्ण बैठक बोलाएर ब्याजदर घटाउने सहमति गरेको हो ।

संस्थागत निक्षेपमा तोकिएको ब्याजदर सीमामा बैंकहरुले आधा प्रतिशत बढी ब्याज दिएर व्यक्तिगत निक्षेप भने लिन सक्नेछन् ।


पुष्प दुलाल