काठमाडौंका प्रमुख स्थानहरुमा यात्रु सहायता कक्ष



काठमाण्डौ । यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, नाडा र सिप्रदीद्वारा यात्रुहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न सेवा शुरु गरेका छन् ।

सिप्रदीद्वारा काठमाडौं महानगरीय ट्राफिक प्रहरी प्रभाग र नाडासँगको सहकार्यमा काठमाडौं उपत्यकाका विभिन्न १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वका लागि टिकट बुकिङसँगै, नागढुंगा, कलंकी, हलचोक, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोवाटो, बल्खु, दक्षिणकाली र बानेश्वरमा यात्रु सहायता कक्ष शुरु भएको छ ।

दशैं मनाउनका लागि करीव ३० लाख मानिसले घर जानका लागि उपत्यका छाड्ने अनुमान गरिएको छ । यातायातको उच्च मागका कारण यात्रुहरुले टिकट बुकिङका क्रममा विभिन्न खालका समस्याहरु भोग्नुपरेका उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाए । उनीहरुले धेरैजसो महंगो टिकट मूल्य, टिकट नपाउने र बस चढ्ने बेलामा समस्या भोग्नुपर्ने जस्ता गुनासो गर्दै आइरहेका थिए ।

साथै, एउटै सिटको टिकट धेरैलाई विक्रि गर्ने र बसका कर्मचारीबाट अनुचित व्यवहार भोग्नुपर्ने जस्ता समस्या विगतमा दर्ता गरिएका थिए । त्यसैले, यस्ता अप्रिय अवस्था रोक्न, यात्रु सहायता कक्ष शहरका विभिन्न स्थानहरुमा स्थापना गरिएका छन् ।

यी यात्रु सहायता कक्षहरुले निश्चित टिकट दरको बारेमा जानकारी उपलब्ध गराउने र गुनासो सुन्ने गरेका छन् । साथै, यी यात्रु सहायता कक्षहरुले उपत्यकाभित्रका स्थानीय यातायात र ट्याक्सी सेवाको निरिक्षण पनि गर्ने गरेका छन् ।

हरेक यात्रु सहायता कक्षमा महानगरीय ट्राफिक प्रहरी प्रभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, वाणिज्य विभाग, उपभोक्ता समूहका प्रतिनिधीहरु रहन्छन् । यी सहायता कक्षहरुमा दूरीसहित टिकटको मूल्य पनि राखिएको छ ।


क्लिकमान्डु