दशैं आयोः भैरहवाको राष्ट्र बैंकमा नयाँ नोट साट्ने चटारो (फोटो फिचर)



रुपन्देही । नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय भैरहवाले दशै पर्वका लागि नयाँ नोट वितरण सुरु गरेको छ । बैंकले असोज २१ गते बाट असोज २९ गते सम्म नयाँ नोट सटही गर्ने जनाएको छ ।

असोज २१ गते देखि नयाँ नोट सटही सुरु गरेको बैंकबाट दैनिक करिब ७ सय सर्वसाधरणले २ करोड रुपैयाँको नयाँ नोट सटही गरिरहेको राष्ट्र बैंकको क्षेत्रीय कार्यालय भैरहवाका प्रमुख अशोक पौडेलले जानकारी दिए । उनले दैनिक २ करोडको दरले ९ दिनमा १८ करोड रुपैयाँ नयाँ नोट वितरण गर्ने लक्ष्य राखिएको बताए ।

बैंकले टोकन प्रणाली मार्फत् नयाँ नोट वितरण गरिरहेको छ । धरै समय लाइनमा उभिन नपरोस भन्ने उद्देश्यले २ वटा काउन्टर मार्फत ३० जनालाई मात्र लाइनमा राखेर नयाँ नोट वितरण भइरहेको बैंकले जनाएको छ ।

त्यस्तै वृद्धवृद्धा, अशक्त, अपाङ्ग र बन्डल फोरेर (जस्तै १०० रुपैयाँको २० वटा नोट मात्र) नयाँ नोट लिन चहानेका लागि छुट्टै काउन्टरको व्यवस्था गरिएको प्रमुख पौडेलले बताए ।

 

उनले बैंक र वित्तीय संस्थाहरुलाई ४० करोड रुपैयाँ वितरण गरिरसकेको र यस बैंक अन्र्तगत रहेको अन्य जिल्लाहरुका पनि १ अर्ब रुपैयाँ पठाइसकेको बताए । प्रत्येक जिल्लालाई १० देखि १५ करोड रुपैयाँ पठाइएको छ ।

त्यस्तै विकास बैंकहरुलाई ३ देखि ५ लाख, वाणिज्य बैंकहरुलाई ५ देखि १० लाख, संघसंस्थालाई ५ लाख, सहकारीलाई २ देखि ३ लाख रुपैयाँ वितरण भइरहेको उनले जनाए ।

उनका अनुसार बैंकले १०० रुपैयाँको एक बन्डल र ५०, २०, १० र ५ रुपैयाँको २÷२ बन्डल गरी प्रतिव्यक्ति २५ हजार रुपैयाँको दरले नयाँ नोट वितरण भइरहेको छ ।

राष्ट्र बैंकको क्षेत्रीय कार्यालय भैरहवाले साविकको लुम्बिनी अंचलको ६ वटा जिल्ला र रोल्पा, प्युठानबाट समेत दशैका लागि नयाँ नोट वितरण गरिरहेको छ । 


पुष्प दुलाल