कमल ज्ञवालीलाई प्रहरीले अदालत उपस्थित गरायो, आधा दर्जन ठगी मुद्दामा अनुसन्धान गर्दै प्रहरी



फाइल फोटो

काठमाडौं । बैंकिङ कसूरमा अदालतबाट दोषी ठहर गरिएका तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

५ दिनअघि भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर शुक्रबार काठमाडौं ल्याइएका ज्ञवालीलाई प्रहरीले आइतबार (आज) अदालतमा उपस्थित गराएको हो ।

‘बिहान ११ बजेतिर ज्ञवालीलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ,’ महानगरीय अपराधन महाशाखा काठमाडौंका एसपी नरेन्द्र उप्रेतिले क्लिकाण्डूसँग भने, ‘भ्याएसम्म अदालतले आजै कारागार चलान गर्छ । र, अदालतको फैसला अनुसार ज्ञवालीलाई जेल चलान गरिनेछ ।’

पुनरावेदन अदालतले सजायको फैसला सुनाए पनि मुद्दाको मिसिल काठमाडौं जिल्ला अदालत पुर्याइएकाले ज्ञवालीलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको एसपी उप्रेतिले जानकारी दिए ।

पुनरावेदन अदालत पाटनले २०७३ असोज ५ गते ज्ञवालीलाई ४ वर्ष कैद र ६ करोड ६५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अदालतले एउटै मुद्दामा ज्ञवाली पत्नी गौरी खनाल ज्ञवालीलाई पनि ३ वर्ष कैद र ६ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

२०६९ मा प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) माउजुरी परेदेखि नै ज्ञवाली दम्पती फरार थिए । भारतल लगायतधका विभिन्न देशमा लुकेर बसेका ज्ञवाली दम्पत्तिलाई गोप्य सुराकका आधारमा र भारतीय प्रहरीको सहयोगमा दिल्लीबाट प्रहरीले पक्राउ गरेको थियो ।

ज्ञवाली विरुद्ध अन्य आधादर्जन भन्दा बठी गठीका मुद्दा परेको एसपी उप्रेतिले जानकारी दिए ।

‘उनीविरुद्ध अन्य ठगीका मुद्दाहरु पनि परेका छन्, हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।

जम्को प्रकाशन प्रालिमा तत्कालीन किष्ट बैंक र सिदार्थ डेभलपमेन्ट बैंकबाट धितोको मूल्यभन्दा बढी ऋण लिएर ज्ञवाली दम्पत्तिले ऋणको दुरुपयोग गरेका थिए । सोही काण्डमा उनीहरुमाथि अदालतले जेल सजाय र जरिवानाको फैसला सुनाएको हो ।


पुष्प दुलाल