खानेपानी मन्त्री बिना मगरको घोषणाले हावा खायो, माघअघि काठमाडौं आउँदैन मेलम्चीको पानी
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले गत फागुनमा मन्त्री पद सम्हालेपछि मेलम्ची नै पुगेर घोषणा गरिन्- आगामी दशैंमा मेलम्चीको पानी काठमाडौँको धारामा आउँछ ।’
तर मन्त्री मगरको घोषणा केवल घोषणाका लागि मात्रै थियो भन्ने अहिले आएर पुष्टि भएको छ । ठेकेदार कम्पनी सिएमसीका कारण सरकारको घोषणालाई घोषणमै सिमित गरिदिएको छ ।
पछिल्लो पटक २ महिनाभन्दा बढी समय ठेकेदार सिएमसीले काम नगर्दा आयोजना पर धकेलिएको छ ।
डिस्प्यूट बोर्डबाट ठेकदारले आयोजनाको म्याद आगामी पुस १९ सम्म लम्ब्याएको छ । अझै पनि आयोजनाको कूल २७ किलोमिटर सुरुङमध्ये करिब १८ किलोमिटर सुरुङमात्रै मर्मत भएको छ ।
दशैअघि बाँकी रहेको ९ किलोमिटर सुरुङ मर्मत मध्ये बढीमा २ किलोमिटर सुरुङमात्रै मर्मत हुने अवस्था रहेको छ ।
सुरुङ मर्मत मात्रै होइन, सुरुङमा पानी पठाउने बाँधको काम समेत बाँकी रहेको छ । पटक–पटक काठमाडौंमा पानी ल्याउने अवधि सर्दै गएको छ । दशैंमा काठमाडौंमा पानी आउने घोषणा त अब पूरा नहुने भएको छ ।
तर ठेकेदारको काम गराईको तरिका हेर्ने हो भने मेलम्चीको पानी काठमडाौं आउन अझै माघसम्म पुग्ने संकेत देखा परेको छ ।
सुरुङको मर्मत मात्रै गरेर पुग्थ्दैन, त्यसलाई सफा समेत गर्नुपर्ने हुन्छ । मर्मतको काम जारी भएका कारण सफा गर्न समेत केही समय लाग्छ ।
यस्तै हावा फाल्ने भेन्टिलेटरको काम समेत अगाडि बढेको छैन । यस्तै पानी रोक्ने, तथा पठाउने महत्वपूर्ण गेट भारतमा नै रहेको छ । त्यस्तै चीनबाट आयात गर्नुपर्ने केही सामान चीनबाट केही दिन पहिले मात्रै हिडेको छ । सो सामान आइपुग्न कम्तीमा पनि २ महिना लाग्छ ।
यस्तै ठेकेदारले अझै पनि पैसा नपाएको भन्दै गुनासो गर्दै आएको छ ।
ठेकेदारले काम गर्ने भन्दा पनि कसरी पैसा उठाउने भन्नेमा मात्रै केन्द्रित भएको जानकारहरुको भनाइ छ । यसले थप रकम निकाशा गरिदिन मन्त्रालयलाई आग्रह गर्दै आएको छ ।
तर मन्त्रालय भने कामको आधारमा मात्रै भुक्तानी हुने भएकाले उसको माग बमोजिम भुक्तानी दिन नसकिने बताउँदै आएको छ ।
पटक पटक पानी आउने म्याद सर्दै गएको आयोजनालाई ल्म्ब्याउने योजनामा अझै पनि ठेकेदार लागेको छ । तर खानेपानी मन्त्रालय भने के गर्ने भन्नेमा अझै निष्कर्षमा पुग्न सकेको छैन् ।
ठेकेदारलाई कारवाही गरेर नयाँ ठेकेदार खोज्न समेत मन्त्रालय नसक्ने अवस्थामा रहेको छ । ठेकेदार मन्त्रालयको सोही कमजोरी बुझेका कारण अझै आयोजना लम्ब्याउने र थप रकम झार्ने योजनामा लागेको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको कूल भौतिक प्रगति भने ८६ प्रतिशत रहेको छ ।
खानेपानी मन्त्री मगरले ठेकेदारको लापरवाहीका कारण दशैंमा पानी ल्याउने घोषणा पूरा नसकेकोमा काठमाडौंबासीसँग माफी मागेको बताउछिन् ।
तर मेलम्ची खानेपानी आयोजनामा पटक–पटक समस्या पार्ने इटालियन कम्पनी सिएमसीले नै तनहुँ सेती जलविद्युत् आयोजनाको ठेक्का समेत पाएको छ ।