भारतको दिल्लीबाट ३ दिनअघि समातिएका थिए तत्कालिन किष्ट बैंकका प्रमुख कमल ज्ञवाली



काठमाडौं । बैंकिङ कसूरका फरार अभियुक्त कमल ज्ञवालीलाई नेपाल प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)को संयुक्त टोलीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको छ ।

गोप्य सुराकीका आधारमा प्रहरीले ज्ञवालीलाई पछ्याइरहेको थियो । दिल्लीको एक घरमा बसिरहेको अवस्थामा ३ दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।

‘भारतीय प्रहरीको सहयोगमा दिल्लीबाट ३ दिनअघि कमल ज्ञवालीलाई पक्राउ गर्न सफल भएका छौं,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले क्लिकमाण्डूसँग भने, ‘लामो समयको फलोअप पछि पक्राउ गर्न सफल भएका हौं ।’

तर, प्रहरीले भारतको सीमावर्त क्षेत्र महेन्द्रनगरबाट पक्राउ गरेको बताएको छ ।

‘ज्ञवालीलाई महेन्द्रनगरको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेका हौं,’ महानगरीय अपराध महाशाखाका एसपी नृपेन्द्र उप्रेतिले क्लिकमाण्डूसँग भने, ‘प्रहरीले ज्ञवालीलाई काठमाडौं ल्याउँदैछ , केही बेरमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिन्छौं ।’

एसपी उप्रेतिका अनुसार ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै पाटन उच्च अदालतले ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना असूल गर्नुपर्ने फैसला सुनाएको थियो ।

ज्ञवालीविरुद्ध अन्य ठगी मुद्दा पनि परेको एसपी उप्रेतिले जानकारी दिए ।

‘उनीविरुद्ध ठगीका अन्य धेरै मुद्दाहरु छन्, हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।

जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा पुनरावेदन अदालत पाटनले २०७३ असोज ५ गते ज्ञवाली दम्पत्तीलार्इ दोषी ठहर गरेको हो ।

न्यायाधीशद्धय डिल्लीप्रसाद आचार्य र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजालसले ज्ञवाली दम्पतीलाई ३र३ वर्ष जेल सजाय र ६ करोड २५ लाखर६ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो ।

६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग भएको भेटिएपछि केन्द्रिय अनुसन्धान व्यूरोले साढे ४ वर्षअघि मुद्दा दायर गरेको थियो । सीआइबीले मुद्दा दायर गरेपछि ज्ञवाली दम्पती फरार थिए ।

त्यतिमात्रै होइन, ज्ञावालीले तत्कालिन समयमा आफु प्रबन्ध सञ्चालक रहेको बैंक किष्टबाट पनि श्रीमति संलग्न रहेको जम्को प्रकाशनलाई १३ करोड रुपैयाँ ऋण प्रवाह गरी दुरुपयोग गरेका थिए ।


पुष्प दुलाल