कर्जा बिस्तारमा बैंकहरु आक्रमकः ८ अर्ब निक्षेप बढाएर १९ अर्ब ऋण, तरलता अभावभको खतरा !



काठमाडौं । पछिल्लो समय बैंकहरु कर्जा विस्तारमा आक्रमक देखिए छन् । लगानी योग्य पुँजी (तरलता) केही सहज भएपछि बंैकहरु कर्जा विस्तारमा आक्रमक देखिएका हुन् ।

पछिल्लो एक हप्तामा बैंकहरुले ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १९ अर्ब रुपैयाँ ऋण दिएका छन् । त्यस्तै, असोज ५ गते २५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले २१ खर्ब ८९ अर्ब रुपैयाँ ऋण दिएका छन् ।

राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार असोज १२ गते सम्ममा बैंकहरुले २५ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २२ खर्ब ८ अर्ब रुपैयाँ ऋण दिएका छन् ।

त्यस्तै, पछिल्लो एक महिनाको तथ्यांक हेर्ने हो भने पनि महिनामा ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ५० अर्ब रुपैयाँले ऋण बढाएका छन् ।

भदौ १४ गते बैंकहरुले २४ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २१ खर्ब ५८ अर्ब रुपैयाँ ऋण दिएका थिए ।

ऋणको माग अत्याधिकरुपमा बढेकाले बैंकहरु ऋण बढाउनमा केन्द्रित भएको तर त्यसअनुसारको निक्षेप नबढेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् ।

‘अहिलेको कर्जा विस्तार खासगरी गाडीमा बढी गएको देखिन्छ,’ उनले भने, ‘गाडी आयातको मात्रा बढ्दा ऋण पनि त्यतै केन्द्रित भएको हो ।’

दशैअघि नेपालीले बढी गाडी किन्ने गरेको तथ्यांकले पनि देखाउँछ ।

यसरी निक्षेपभन्दा कर्जा धेरै बढेपछि बजारमा फेरि लगानीयोग्य पुँजी तरलताको अभाव हुन सक्ने दाहालको अनुमान छ ।

‘पछिल्लो समयको निक्षेप र कर्जाको वृद्धिदरलाई तुलना गरेर हेर्दा यो वर्ष पुसअघि नै तरलता अभावको समस्या आउने संभावना देखिन्छ,’ उनले भने ।


पुष्प दुलाल