काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले राष्ट्र बैंकमाथि कुनै पनि प्रकारको अंकुश नलगाएको प्रष्टिकरण दिएका छन् । राष्ट्र बैंकका काम कारबाीमाथि अर्थमन्त्री खतिवडाले समय हस्तक्षेप गरेपछि पछिल्लो समय उनको आलोचना भइरहेको छ ।
तर, अर्थमन्त्री खतिवडाले भने राष्ट्र बैंक स्वायत्त निकाय भएको उल्लेख गर्दै आफूले कुनैपनि अंकुश नलगाएको प्रष्टिकरण दिए ।
बुधबार साँझ जनतासँग प्रधानमन्त्री नामक कार्यक्रममा प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै पुगेका खतिवडाले यस्तो प्रष्टिकरण दिएका हुन् । प्रधानमन्त्री केपी ओली नेपालमा नभएका कारण अर्थमन्त्री खतिवडा कार्यक्रममा गएका थिए ।
कार्यक्रम प्रस्तोताले अर्थमन्त्री खतिवडालाई राष्ट्र बैंकमा किन अंकुश लगाउनु भएको ? भन्ने प्रश्न गरेका थिए ।
जवाफमा अर्थमन्त्रीले भने– ‘लगाएको छैन । केही पनि अंकुश लगाएको छैन । राष्ट्र बैंक आँफैमा स्वायक्त संस्था हो। मैले आँफैले पनि स्वायक्त ढंगले काम गरेको हुँ। त्यसको परिपालना मैले पनि गरिरहेको छु। एउटा कुरा म भन्छु। स्वायक्त संस्था हो राष्ट्र बैंक। स्वायक्त संस्थामा जवाफदेहिता पनि हुन्छ। स्वायत्तता निरपेक्ष होइन। स्वायत्ततामा बस्नेले (मैले पनि त्यो तपाईले पनि) जवाफदेहिता निर्वाह गर्नुपर्छ। हैन भने हामीभन्दा माथि अर्को पनि हुन्छ। त्यसलाई सुपरिवेक्षण गर्ने अर्को कोही पनि हुन्छ। यो मैले पनि बुझ्नु पर्छ तपाईले पनि बुझ्नु पर्छ।’
आफ्नो ज्वाईँ डा. रामशरण खरेलको बढुवा गर्न तीब्र दबाब दिएका अर्थमन्त्री खतिवडाले पछिल्लो समय दैनिक काम कारबाहीमा समेत हस्तक्षेप गर्न थालेका छन् ।
केही दिनअघि अर्थमन्त्रीले गभर्नर डा. चिरञ्जीबी नेपालको रसिया भ्रमण रोकेका थिए ।
राष्ट्र बैंकले हरेक महिना सार्वजानिक गर्ने देशको वर्तमान आर्थिक स्थितिको तथ्यांक दिँदै अर्थतन्त्र कुन दिशामा गइरहेको छ भनेर स्वतन्त्र ढंगले अनुमान सहितको आफ्नो धारणा राख्दै आएको थियो । राष्ट्र बैंकलाई उक्त धारणा राख्नबाट पनि अर्थ मन्त्रालयले बन्देश जगाएको छ ।
अर्थमन्त्री खतिवडाको निर्देशन हो भन्दै अर्थ मन्त्रालयका सल्लाहकारसमेत रहेका रामशरण खरेलले राष्ट्र बैंकले आफ्नो धारणा राखिरहन जरुरी नभएको भन्दै रोक्न निर्देशन दिएका थिए ।
राष्ट्र बैंककै निर्देशक रहेका खरेलले कार्यकारी निर्देशक स्तरका कर्मचारीलाई यस्तो निर्देशन दिएका थिए । खरेलको निर्देशनसँगै केही दिनअघि राष्ट्र बैंकले सार्वजानिक गरेको आर्थिक वर्ष ०७५/७६ को पहिलो महिना अर्थात् साउनको देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी प्रतिवेदनमा राष्ट्र बैंकले अनुमानसहितको आफ्नो धारणा राखेको छैन ।
प्रतिक्रिया