अर्थमन्त्रीका ज्वाइलाई नियम मिचेर नागरिक लगानी कोषको संचालक बनाइयो




काठमाडौं । आफू अर्थमन्त्री भएको भोलिपल्टै राष्ट्र बैंकको विराटनगर कार्यालयबाट काजमा अर्थमन्त्रालय तानेका डा. युवराज खतिवडाले आफ्ना ज्वाइलाई नियम विपरित नागरिक लगानी कोषको संचालकमा नियुक्त गरेका छन् ।

अर्थमन्त्री डा. खतिवडाले आफ्ना ज्वाइ डा. रामशरण खरेललाई कोषको संचालक बनाएका हुन् ।

कोषमा अध्यक्ष सहित ९ सदस्यीय संचालक समिति रहने कानुनी ब्यवस्था छ । कोषको ऐनले संचालक समितिमा कुन कुन निकाय वा कस्तो यग्यता भएका ब्यक्तिलाई संचालक बनाउने भनेर किटान गरेको छ । तर, अर्थमन्त्री डा. खतिवडाले आफ्ना ज्वाइलाई नियम मिचेर संचालक बनाएका छन् ।

कोषको ऐनले नेपाल सरकारले मनोनित गरेको एक जना, नेपाल राष्ट्र बैंकले मनोनित गरेको एक जना र नेपाल स्टक एक्सचेन्जको एक जना संचालक रहने ब्यवस्था गरेको छ ।

यस्तै सर्बसाधारण सेयरवालाहरुमध्येबाट निर्वाचित एक जना तथा अन्य वित्तीय संस्थाहरुमध्येबाट मनोनित वा निर्वाचित एक जना संचालक रहने ब्यवस्था ऐनमा छ ।

यो ब्यवस्था अनुसार सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिब चन्द्रकला पौडेल, नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, अन्य वित्तीय संस्थाको तर्फबाट राष्ट्रिय बीमा संस्थानका सुरेन्द्र थापा र सेयरधनीको तर्फबाट कमलेश कुमार अग्रवाल र अशोक बुढाथोकी छन् ।

अर्थमन्त्रीका ज्वाइ डा. खरेललाई ‘उद्योग बाणिज्य वा पुँजी बजार सम्बन्धी विषयमा विशेष ज्ञान तथा अनुभव भएका ब्यक्तिहरु वा लगानीकर्ताहरु मध्येबाट नेपाल सरकारले मनोनित गरेका ३ जना सदस्य’को तर्फबाट संचालक बनाइएको हो । कोषको कार्यकारी निर्देशक पद खाली छ ।

तर, जानकारहरुले अर्थमन्त्रीका ज्वाइ डा. खरेल ऐनको सो ब्यवस्था अनुसार संचालक बन्न नसक्ने बताउँछन् । उनी नेपाल राष्ट्र बैंकका कर्मचारी हुन् भने अहिले अर्थमन्त्रालयमा अर्थमन्त्रीको सहयोगीको रुपमा काजमा कार्यरत छन् ।

‘सरकारको तर्फबाट संचालक बन्न सरकारी कर्मचारी चाहिन्छ, डा. खरेल अर्थमन्त्रालयका कर्मचारी होइनन्, राष्ट्र बैंकबाट संचालक बन्न राष्ट्र बैंकले नै मनोनित गर्नुपर्छ, उनलाई राष्ट्र बैंकले मनोनित पनि गरेको छैन भन्ने कुरा आएको छ, त्यसैले संचालक पठाउन सक्ने निकायको कर्मचारी (नेपाल राष्ट्र बैंक) लाई अन्य समुहको भनेर नियुक्त गरिनु पदको दुरुपयोग नै हो,’ कोषका पूर्व एक संचालकले भने ।

अर्थमन्त्री डा. खतिवडाले आफ्ना ज्वाईलाई हतार हतार कोषको संचालक बनाएपनि कार्यकारी निर्देशक सहित रिक्त रहेको तीन संचालक नियुक्तिमा भने कुनै चासो देखाएका छैनन् ।


क्लिकमान्डु