३३ केजी सुन प्रकरणबारे काँग्रेस नेता केसीले भने-‘अब कुन दिन गोरे नै समाप्त हुन बेर छैन’




काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले सरकारले भ्रष्टाचार सहन्नौं भनेर दिनप्रतिदिन बोल्ने गरेपनि व्यवहारमा त्यस्तो नदेखिएको बताउनु भएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘मेरो सरकारलाई चुनौति छ, ३३ केजी सुन प्रकरण कहाँ पुग्यो ? के भैरहेको छ ? त्यो कहाँ छ ? त्यसमा जिम्मेवार को–को छन् ?

आग्रह वा पूर्वाग्रह बिना जुनुसकै पार्टीको भएपनि जनताको बिचमा ल्याईदिओस्, लु तागद छ भने । तर छैन । तैं चुप । मैं चुप । किनभने लहरो तान्दा पहरो गर्जिन्छ भनेर हाम्रो गाउँघरतिर भन्थे । अब त्यस्तै स्थिति छ । अब रिपोर्ट पनि कता गयो थाहा छैन ।’

सुनकाण्डका मुख्य नाईके नै पक्राउ परेपछि बास्तविकता बाहिर नआएकोमा आक्रोश पोख्दै उनले भने,‘यो प्रकरणका मुख्य नाईके गोरेलाई पक्राउ गरिएको छ । अब कुन दिन न रहे बास, न बजे बाँसुरी भनेर त्यो गोरे नै समाप्त हुन बेर छैन ।’

काँग्रेलाई अरुबाट हैन पार्टी भित्रैबाट समस्या


सोही साक्षात्कारमा बोल्दै नेता केसीले भने,‘कांग्रेसलाई अरुबाट चूनौति छैन् । आफ्नै पार्टीभित्रको आन्तरिक कुरीतिबाट चूनौति छ । ती सबै कुसंस्कारलाई सुधार गर्नुपर्छ ।’

मुलुक संघीय संरचनामा गैसकेकोले अब विधान बनाउन मस्यौता समिति गठन भएको र समितिले प्रारम्भिक मस्यौदा तयार पारेको केसीले सुनाए । उनले भने,‘अब ७ वटै प्रदेशमा १२ वटा भेला हुँदैछ ।’ कांग्रेसको लागि अहिलेसम्मकै जटिलत् एवम् चूनौतिपूर्ण कालखण्ड भएकोले पार्टी अब नेतामुखी नभएर जनतामुखी र संस्थामुखी हुनुपर्ने पनि केसीले बताए ।

फरक प्रसङ्गमा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको आज ७ महिना ५ दिन भएको उल्लेख गर्दै यो बीचमा ठूला–ठूला भ्रमको खेती भएको र झुठका पुलिन्दा बाँडिएको गुनासो पोखे । उनले भने,‘हुन त यो अवधिमै सरकारको मूल्यांकन गर्ने बेला होईन, तरपनि हुने बिरुवाको चिल्लो पात भनेजस्तो, अहिले त्यो चिल्लो पात देखिएन । खस्रो पात देखियो ।’

नेता केसीले भने,‘अहिले ५ हप्ता हुन लाग्यो, यो बीचमा झण्डै ३७ जना महिलाहरु जहाँ ७ महिनाको बालिकादेखि ८३ वर्षको बृद्धाको समेत बलात्कार भएको छ ।

बलात्कार, हत्या, हिंसा र अपाराधिक गतिविधिहरु यसरी बढेको छ, तर सरकारले अपराधीहरु पत्ता लगाउन सकेको छैन । दुई तिहाईको सरकार छ । नेपालको ईतिहाँसमा विपी कोइरालापछि यति शक्तिशाली सरकार पहिलो चोटी निर्माण भएको छ । तर, यसको निम्ति सरकारले आफ्नो निम्ति आफैले लज्जा मान्नुपर्ने स्थिति छ ।’

काठमाण्डौ महानगरका मेयरले केही गरेनन्


नेता केसीले काठमाडौं महानगरपालिकाले मेयर पाएको १८ महिना बितिसक्दापनि अहिलेसम्म महानगरका विकासमा केही परिवर्तन नभएको पनि आरोप लगाए । उनले भने,‘हिजो निर्वाचनको बेला जनतासामू गरेका प्रतिबद्धताहरु खोई त पूरा गरेको ?

फरक प्रसङ्गमा उनले सरकारले बुढीगण्डकी बनाउन गेजुवालाई दिने कुरा आएकोप्रति टिप्पणी गर्दै भने,‘एउटा सरकारले दियो, अर्कोले फिर्ता गर्यो, फ्रिक्वेन्टली यस्तो भैरहेको छ । अहिले फेरी उहाँहरुले दिँदा त्यसको उपदेहिता के छ भन्ने कुरा हो । विकास निर्माणका कुरा पुतली खेलेजस्तो भैरहेको छ । त्यसो गर्नुहुन्न । पछिल्लो समय फाईदाको आधारमा सरकारले निर्णय गरेको छ भन्ने कुरा बाहिर आएको छ ।’


क्लिकमान्डु