पेट्रोलियम पदार्थको हाहाकार, सरकारले तोक्यो कोटा, बाइकलाई ५ लिटर मात्रै



काठमाडौं । ट्याङ्कर ड्राइभरहरुको आन्दोलनले पेट्रोलियम पदार्थको हाहाकार भएको छ । भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी देवानी संहितामा गरिएको कतिपय व्यवस्थाले आफूहरुलाई अफ्ठ्यारोमा पारेको भन्दै केहीदिन यतादेखि ट्याङ्कर ड्राइभरहरु आन्दोलित भएका छन् । जसले आपूर्ति व्यवस्था असहज बनाएको छ ।

आपूर्ति व्यवस्था असहज भएको भन्दै सरकारले कोटा सिस्टम लागू गरेको छ । नेपाल आयल निगमले शुक्रबार पेट्रोलियम डिलर्स एसोशिएनलाई कोटा सिस्टम लागू गर्न निर्देशन दिएको हो ।

निगमको मोटरसाइकल र स्कुटरलाई ५ लिटर, अन्य हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल, डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन निर्देशन दिएको हो ।

एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको विक्रि वितरण गर्न निर्देशन दिइएको छ ।

यतिखेर २०७२ सालको भारतीय नाकाबन्दी झल्काउने गरी उपभोक्ताहरु पेट्रोल पम्पमा घन्टौं लाइन बसेको देख्न सकिन्छ ।


पुष्प दुलाल