दशैंको अग्रिम टिकट नखुलाएपछि ‘सिण्डिकेटवाला’सँग झुक्यो सरकार, बैंक खाता र सम्पत्ति फुक्का गरिदैँ




काठमाडौं । सार्बजनिक यातायातको क्षत्रेका समिति बनाएर ब्यवसायीहरुले सिण्डिकेट लागू गरे भन्दै रोक्का गरिएको सबै समितिको बैंक खाता फुक्का हुने भएको छ ।

बैंक खाता खुल्ला नगरी दशै तिहारको लागि सार्बजनिक यातायातका अग्रिम टिकट खुल्ला नगर्ने अडानमा रहेका ब्यवसायीसँग सरकार झुकेको हो । समितिको नाममा रहेको चल अचल सम्पत्ति कम्पनीको नाममा हस्तान्तरण गर्ने प्रक्रिया मिलाउन प्रधानमन्त्रीले यातायात ब्यवस्था बिभागलाई निर्देशन दिएका छन् ।

समितिमा रहेका ब्यवसायीहरु कम्पनीमा परिणत भएपछि समितिको नाममा रहेको बैंक खातादेखि अन्य चल अचल सम्पत्ति कम्पनीको नाममा हस्तान्तरण गर्ने प्रक्रिया मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात ब्यवस्था विभागका महानिर्देशक लावण्य कुमार ढकाललाई निर्देशन दिएका छन् ।

‘समितिका नाममा रहेका बैंक खाताको रकम कम्पनीमा परिणत भएपछि स्वतः सोही कम्पनीमा जाने गरी प्रक्रिया मिलाउनुस्, दशै, तिहार जस्ता ठूला चाड पर्वमा जनताले सहज रुपमा आवागमन गर्नको लागि सार्बजनिक गाडीको अभाव वा समस्या नहोस्,’ नेपाल टेलिभिजनबाट बुधबार प्रत्येक्ष प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा विभागका महानिर्देशक ढकाललाई टेलिफोनबाटै निर्देशन दिदै प्रधानमन्त्री ओलीले भने ।

सो कार्यक्रममा दशै तिहारको लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्छ भन्ने बिषय उठेको थियो । सोही बिषयमा प्रधानमन्त्री ओलीले महानिर्देशक ढकालसँग प्रत्येक्ष टेलिफोन कुराकानीमा यस्तो बताएका हुन् ।

महानिर्देशक ढकालले ब्यवसायीहरु अग्रिम बुकिङ खुलाउन तयार नभएका बताएका थिए ।

समितिका बैंक खाता रोक्का भएकोले आफ्ना कर्मचारीलाई तलबभत्ता दिन नपाएको, आफूहरुसँग भएको पैसा बैंकमै रोकिदा आफूहरुको दैनिकी चल्न नै गाह्रो भएको र सार्बजनिक सवारी साधान संचालनको लागि आवश्यक अन्य खर्चको जोहो गर्न नै समस्या भएको भन्दै ब्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउन नमानिरहेको विभागका सुचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए ।

‘बैंक खाता बन्द हुदाँ हाम्रा सबै गतिविधि प्रभावित भए भन्ने ब्यवसायीहरुको गुनासो छ, प्रधानमन्त्रीज्यूले नै समस्या समाधान गर्ने विकल्पसहित निर्देशन दिनुभएकोले अब हामी ब्यवसायीसँग आइतबार नै वैठक गरेर अग्रिम टिकट बुकिङको मिति तय गर्छांै,’ सुचना अधिकारी उपाध्यायले क्लिकमाण्डूसँग भने ।

यसको लागि सरकारले समितिका नाममा रहेको चल अचलन सम्पत्ति ती समिति कम्पनीमा रुपान्तरण भएपछि कम्पनीको नाममा हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउने र ब्यवसायीले अग्रिम टिकट बुकिङ खुल्ला गर्न सहमति गर्ने गरी प्रक्रिया अगाडि बढाउन यातायात ब्यवस्था विभाग लागेको छ ।


क्लिकमान्डु