बार्षिक १११ अर्ब राजस्व तिर्छ अटोमोबाइल्स क्षेत्र, सडक मर्मत शुल्क मात्रै साढे ९ अर्ब




काठमाडौं । सरकारले अटोमोबाइल्स क्षेत्रलाई अनुत्पादक भन्दै बेलाबेलामा नीतिगत असहयोग गर्ने गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट अटो मोबाइल्स क्षेत्रमा जाने कर्जामा कडाइ गर्दै बेलाबेलामा यसको सीमा तोक्ने गरिएको छ ।

तर, अटोमोबाइल्स क्षेत्रले सरकारी राजस्वमा ठूलो योगदान दिएको तथ्यांकले देखाएको छ । सरकारी तथ्यांक अनुसार गत आर्थिक बर्षमा अटो मोबाइल्स क्षेत्रले १ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी राजस्व तिरेको छ ।

अटोमोबाइल्स क्षेत्रले गत आर्थिक बर्षमा भन्सार, अन्तशुल्क तथा मूल्य अभिबृद्धि कर (भ्याट) सहित ८१ अर्ब २० करोड रुपैयाँ राजस्व तिरेको छ । यसमा सडक मर्मत सम्भार शुल्क, सवारीधनी कर, लाइसेन्स नविकरण तथा अन्य र बीमा रकम समेत जोड्दा १ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी हुने सरकारी अधिकारीहरु नै बताउँछन् ।

भन्सार, अन्तशुल्क तथा मूल्य अभिबृद्धि कर (भ्याट) सहित अघिल्लो आर्थिक बर्ष ७९ अर्ब ७५ करोड रुपैयाँ उठेको थियो भने आर्थिक बर्ष २०७२/७३ मा ६० अर्ब ४६ करोड रुपैयाँ थियो ।

यस्तै गत आर्थिक बर्षमा सडक मर्मत सम्भार शुल्क मात्रै अटो मोबाइल्स क्षेत्रले ९ अर्ब ४३ करोड रुपैयाँ तिरेको छ । त्यसको अघिल्लो बर्ष ८ अर्ब ५३ करोड रुपैयाँ सडक मर्मत शुल्क उठेको थियो भने आर्थिक बर्ष २०७२/७३ मा ५ अर्ब ४६ करोड रुपैयाँ राजस्व तिरेको थियो ।

यस्तै अटो क्षेत्रले सवारीधनी कर वापत गत आर्थिक बर्षमा मात्रै १० अर्ब ६५ करोड रुपैयाँ राजस्व तिरेको छ । अघिल्लो आर्थिक बर्ष ८ अर्ब ७९ करोड सवारीधनी कर तिरिएकोमा आर्थिक बर्ष २०७२/७३ मा ७ अर्ब रुपैयाँ यस्तो कर तिरिएको थियो ।

लाइसेन्स नविकरण तथा अन्य शिर्षकमा गत आर्थिक बर्षमा २ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठेको छ । अघिल्लो बर्ष यस्तो रकम २ अर्ब ४० करोड रुपैयाँ र आर्थिक बर्ष २०७२/७३ मा १ अर्ब रुपैयाँ उठेको थियो ।

यस्तै सवारी बीमामा पनि बर्सेनि ठूलो रकम उठ्ने गरेको तथ्यांकले देखाएको छ । नाडा अटोमोबाइल्स एसोसिएसनले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा अटोमोबाइल्स बीमामा ७ अर्ब रुपैयाँ उठेको छ । अघिल्लो आर्थिक बर्षमा ६ अर्ब रुपैयाँ सवारी बीमाबाट उठेकोमा आर्थिक बर्ष २०७२/७३ मा ५ अर्ब रुपैयाँ उठेको थियो ।


क्लिकमान्डु