नाडा अटो शोको तयारी पूरा, विद्युतीय सवारी साधनको प्रचारमा ब्यवसायी




काठमाडौं । प्रत्येक बर्षजस्तै यो बर्षको नाडा अटो शोको तयारी पूरा भएको छ । यस बर्ष सवारी साधन विक्रेता ब्यवसायीहरुले विद्युतीय सवारी साधनको प्रचार प्रसारलाई मुख्य रुपमा जोड दिने भएका छन् ।

भदौ २६ गतेदेखि ६ दिनसम्म चल्ने अटो शोको तयारी पूरा भएको नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शम्भु दाहालले जानकारी दिए । यस बर्षको अटो शोमा खासगरी विद्युतीय सवारी साधनको जानकारीलाई केन्द्रमा राखिएको उनको भनाइ छ ।

‘अटो शोको तयारी पूरा भएको छ, यसबर्ष हामीले विद्युतीय सवारी साधनको बारेमा नेपाली उपभोक्तालाई जानकारी दिने गरी तयारी गरेका छौं, ब्यवसायीहरुले पनि सोही अनुसारको प्रचारलाई बढी प्राथमिकता दिएका छन्,’ अध्यक्ष दाहालले भने ।

ब्यवसायीले विद्युतीय सवारी साधनको प्रचार प्रसार गर्न खोजेपनि आवश्यक पूर्वाधार भने अझै तयार भइसकेको छैन । विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन लगायतका पूर्वाधार विकासमा राज्यले अझै जोड दिनुपर्ने आवश्यकता रहेको अध्यक्ष दाहाल बताउँछन् ।

यस बर्षको नाडा अटो शोमा हुन्डाइ, टाटा, किया, महेन्द्रा जस्ता कम्पनीका ४ पांग्रे विद्युतीय सवारी साधनको बारेमा नेपाली उपभोक्तालाई जानकारी दिने विशेष योजना बनाइएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएसन र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेमेन्टको संयुक्त आयोजनामा नाडा अटो शो हुन लागेको हो । मेलामा ७१ वटा कम्पनीका १३४ वटा स्टलहरू रहने छन् ।

शोमा १९ वटा ब्राण्डका चार पाङग्रे सवारी र २० वटा ब्राण्डका दुई पाङग्रे सवारी साधनहरू रहने छन् । अटो शोमा नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसेसरिजहरूको पनि सहभागिता रहनेछ ।

यस बर्षको शोमा थप चार ब्राण्डका मोटर साईकल, तीन ब्राण्डको कार थपिएका छन् । मेलाका लागि थप स्पेश आवश्यक भएकोले नयाँ डोम पनि थपिएको आयोजकले जानकारी दिएको छ ।

४ पांग्रे गाडी किन्ने अधिकांशले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर किन्ने गरेका छन् । बैंकिङ क्षेत्रमा तरलताको कमी तथा सरकारले अटो फाइनान्समा गरेको कडाइका कारण अहिले अटोमावाईल क्षेत्रमा मन्दी छ । तर, पछिल्ला दिनहरुमा तरलता सहज हुदै गएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुले ऋणको ब्याजदर घटाउन थालेका छन् । यसले पनि अटो ब्यवसायमा सकारात्मक प्रभाव पर्ने देखिएको छ ।


क्लिकमान्डु