मर्जरको अन्तिम चरणमा सेयर बजारमा लक्ष्मीको मूल्य बढ्यो, एभरेष्टको सुस्त



। एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको हल्लासँगै सेयर बजारमा लक्ष्मी बैंकको सेयर मूल्य बढेको छ ।

तर,एभरेष्ट बैंकको सेयर मूल्य भने दोस्रो सुस्त रुपमा देखिएको छ ।

मंगलबार लक्ष्मीको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँले बढेर प्रतिकित्ता २६५ रुपैयाँमा पुगेको छ । भदौ १४ मा लक्ष्मी सेयर मूल्य प्रतिकित्ता २३३ रुपैयाँ थियो । पछिल्लो तीन दिनमा मात्र लक्ष्मीको सेयर मूल्य ३२ रुपैयाँले बढेको छ ।

एभरेष्ट र लक्ष्मी बैंकले मर्जरमा जाने अनौपचारिक सहमति गरेका थिए । मर्जरमा जानको लागि सम्झौता गर्नु अगाडि नै एभरेष्ट र लक्ष्मीले सम्पत्ती र दायित्वको मूल्यांकन(डिडिए) गर्न सहमत भएका थिए ।

डिडिएको रिपोर्टमा एभरेष्ट लक्ष्मीको १००ः५० को अनुपातमा आएको छ । अर्थात लक्ष्मीको दुईकित्ता बराबर एभरेष्टको एककित्ता सेयर मुल्यांकन कायम गर्न भ्यालुएटरले सुझाव दिएको छ ।

भ्यालुएटरको प्रतिवेदनपछि दुई बैंकका संचालकहरु मर्जरमा जाने वा नजाने भन्ने विषयमा अन्तिम चरणको वार्तामा छन् ।‘एकसाताभित्रमा कुनै टुंगोमा पुग्ने निर्णय हुन्छ,’ एभरेष्टका एक संचालकले भने ।

मर्जरको अन्तिम चरणको हल्ला चलेपछि एभरेष्टको सेयर मूल्य भने सुस्ताएको छ । पछिल्लो समय सेयर बजार बढेपनि एभरेष्ट भने बढ्न सकेको छैन ।

भदौ १४  मा एभरेष्टको सेयर मूल्य दोस्रो बजारमा ६५८ थियो । मंगलबार कारोबार बन्द हुँदा ६५७ मा झरेको छ । मंगललबार मात्र एभरेष्टको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँले घटेको छ ।


क्लिकमान्डु