सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउन सांसदहरुको माग



काठमाडौँ । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण द्रुत गतिमा अगाडि बढाउन, सबै गाउँपालिका तथा नगरपालिकामा बैंकिङ सेवा पु¥याउन माग गरे ।

यसैगरी सांसदहरुले थारु जातीमा मात्र देखिने सिकलसेल रोगको उपचार निःशुल्क गर्न, स्वास्थ्य बीमा भएका जिल्लामा औषधि अभाव देखिएको र आन्दोलनमा रहेका चिकित्सकका माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराए ।

यसरी ध्यानाकर्षण गराउनेमा सांसदहरुमा अतहरकमाल मुसलमान, आशाकुमारी विक, उमा रेग्मी, कुमारी मेचे, कृष्णकुमारी श्रेष्ठ, खगराज अधिकारी, गौरीशंकर चौधरी र केदार सिग्देल थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासित विशेष समय माग गरी नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याराको खोजी गरी कडाभन्दा कडा कारवाही गर्न माग गरे ।

उनले सो घटना मानवसभ्यताको कलङ्क भएकाले त्यसमा संलग्न जोसुकै भए पनि कारवाही गर्न माग गरे ।


क्लिकमान्डु