३ नम्बर प्रदेशको मन्त्री परिषद् बैठकले गर्यो यस्ता निर्णय



हेटौंडा । मुख्यमन्त्रीको कार्यालय हेटौंडामा ३ नम्बर प्रदेशको मन्त्रीपरिषदको बैठक आज बिहान बसेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ ।

बैठकले प्रदेश निजामति सेवा पुरस्कार सम्बन्धी कार्यविधि स्वीकृत गर्ने, सामाजिक विकास मन्त्रालयको मातहतमा रहने कार्यालयहरुको स्थापना गर्न स्वीकृत गर्ने, प्रदेश खेलकुदको विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रको सैद्धान्तिक स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

बैठकले सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रको सैद्धान्तिक स्वीकृत गर्ने, युवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारण पत्रको सैद्धान्तिक स्वीकृत गर्ने र प्रादेशिक शिक्षा परिषद्को स्थापना गर्न बनेको विधेयकको अवधारणा पत्रको सैद्धान्तिक स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुंगेलले बताए ।


क्लिकमान्डु