३ दिन उपत्यकामा जोर तथा बिजोर प्रणाली लागू, १३ र १५ गते बिजोर तथा १४ गते जोर नम्बरका गाडीमात्र चलाउन पाइने



काठमाण्डौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) सम्मेलनका क्रममा सवारीसाधनको आगमनलाई सहज बनाउन उपत्यकामा चल्ने सवारीसाधनमा जोर तथा बिजोर प्रणाली लागू गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने विदेशी विशिष्ट अतिथिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउनका लागि सम्पूर्ण निजी तथा भाडाका सवारीसाधनलाई जोर बिजोर प्रणाली लागू गर्न लागेको जनाएको छ ।

महाशाखाका अनुसार यही भदौ १३ देखि १५ गतेसम्म उक्त प्रणाली लागू हुनेछ । भदौ १३ र १५ गते सवारीसाधनको नम्बर प्लेटको अन्तिममा जोर  नम्बर भएका सवारीसाधन तथा भदौ १४ गते बिजोर नम्बर भएका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

बिमस्टेक सम्मेलनमा आकस्मिक बाहेकका सबै सवारीसाधनका लागि जोर बिजोर प्रणाली लागू गरिएको छ । “एम्बुलेन्स, दमकल, अस्पताल, सञ्चार, पर्यटक बोकेका सवारीसाधन बाहेक अरू सवारीसाधनका लागि जोर बिजोर प्रणाली लागू गरिएको छ”, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले भने ।

काठमाडौँ उपत्यकामा हाल आठ लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् । धेरै सवारीसाधन ओहोरदोहोर गर्दा बिमस्टेक सम्मेलनमा आउने पाहुनाको आवागमनमा अप्ठ्यारो पर्ने भएकाले महाशाखाले उक्त प्रणाली लागू गर्न लागेको हो । रासस


क्लिकमान्डु