नार्कको पुनर्संरचना गरिंदै, कास्कीको लुम्लेमा सरोकारवालाबीच छलफल



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा सुधार ल्याउने गरी अनुसन्धान गर्न विज्ञ तथा वैज्ञानिकहरूलाई आग्रह गरेका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) को पुनर्संरचनाका लागि कास्कीको लुम्लेमा भैरहेको छलफलमा मन्त्री खनालले वैज्ञानिकको कामको उपलव्धि खोजेका हुन् ।

उनले वैज्ञानिकले कतिवटा विषयमा प्रमाणपत्र लियो भन्दापनि कृषकले के उपलव्धि पाए भन्ने आफ्नो चासो रहेको बताए । नार्कको कार्यशैली बदल्नु पर्ने भन्दै नेपालमा वैज्ञानिक भएपनि भारतबाट आयात गर्नु पर्ने अवस्था रहनु ठीक नभएको बताए ।

उनले तत्काल नतिजा निस्कने गरी आफ्नो विषयमा अनुसन्धान गर्न कृषि बैज्ञानिकहरुलाई निर्देशन दिए । आवश्क परे ऐन संसोधन नभई पुनरलेखन गर्नपनि सकिने, तर कृषकले उपलव्धि पाउनु पर्ने उनको भनाई थियोे ।

नार्कले अहिलेको कार्यशैलीपनि बदल्नु पर्ने मन्त्री खनाल्ले बताए । नार्कका संरचना मर्ज गर्नुपर्ने र क्षेत्रीय कार्यालयलाई विकास गर्न आवश्यक रहेको मन्त्री खनालको भनाई छ ।

’तपाईहरूले कतिवटा विषयमा विज्ञता हासिल गर्नु भो, त्यो मेरो चासोको विषय हैन, कृषकले र देशले के पायो त्यो मेरो चासो हो’, मन्त्री खनालले भने । कार्यक्रममा राज्यमन्त्री रामकुमारी चौधरीले कृषि मन्त्रालयको इजत राख्ने गरी काम गर्न आग्रह गरिन् ।

रिसर्चका लागि रिसर्च हैन, प्रयोगमा आउने खालका रिसर्च गर्न आवश्यक छ, उनले भनिन् । अनुसन्धानलाई राजनीति भन्दा माथी राख्नु पर्ने उनको भनाई छ ।

प्रदेश नं ४ का कृषिमन्त्री लेखबहादुर थापा मगरले अनुसन्धानको विषय प्रदेश मातहत भए स्थानीय आवश्यकता अनुसारको क्षेत्रमा अनुसन्धान गरिने र तत्काल उपलव्धि हुने दाबी गरे ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कको पुनर्संरचनाका लागि भइरहेको छलफल भोलिसम्म चल्ने छ । गतवर्ष असोजमा गठन भएको कार्यदलले तयार गरेको मस्यौदा अनुसार नै नार्कको नयाँ संरचना बनाउन लागिएको हो । यस्तै गत असारमा पनि संसोधन मस्यौदा तयार गर्न समिति गठन गरिएको थियो ।

२७ वर्ष पहिले स्थापना भएको नार्कलाई नयाँ संरचनामा लैजान लागिएको हो । मंगलबारसम्म चल्ने छलफलले कस्तो संरचनामा जाने भन्ने टुंगो लगाउने छ । कार्यक्रममा केन्द्र र प्रदेशका कृषीमन्त्री, प्रदेशका कृषि मन्त्री, कृषि विज्ञ, वैज्ञानिकहरू सहभागी छन् ।


क्लिकमान्डु