प्रतिनिधि सभामा सांसदको आपत्ति– मनोमानी कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम भो !



फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिएकामा आपत्ति जनाएका छन् ।

स्थानीय तहले कर लगाउने व्यवस्था संविधानमा भएपनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नगरिकन हचुवाको भरमा निर्णय गरिएको उनीहरुको गुनासो थियो ।

करका विषयमा देशव्यापी रुपमा विरोध र आलोचना भएकाले तत्काल यस विषयमा स्पष्ट निर्देशन दिन सांसदहरूले सरकारसँग आग्रह गरे ।

जनताले तिर्न नसक्ने र क्षेत्राधिकार नै नभएका विषयमा समेत कर लगाएर सङ्घीय शासन प्रणालीमा नै आँच आउने काम नगराउन उहाँहरुले सदन र सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । यसरी ध्यानाकर्षण गराउनेहरूमा सांसद अमरेशकुमार सिंह, उमेश श्रेष्ठलगायतका थिए ।

सांसद गगन थापाले विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् भन्दै भौतिक पूर्वाधार निर्माण गर्दा विशेष ख्याल गर्न आग्रह गरे भने सांसद आशाकुमारी विक, कृष्णभक्त पोखरेललेपनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न माग
यसैबीच, देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गरे ।

सांसद शेरबहादुर तामाङले हरेक निकायका पदाधिकारी जिम्मेवार बन्न नसक्दा जनताको आर्थिक समृद्धिको अपेक्षा पूरा हुन नसक्ने बताउँदै सार्वजनिक पदका व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र यो कानूनी रुपमा नै व्यवस्था गर्नुपर्ने भनाइ राखे ।

सांसद भरतकुमार शाहले निर्माणाधीन गौतम बुद्ध विमानस्थल निर्माणमा मुख्य योगदान पु¥याएका आयोजना प्रमुखको सरुवा गरिएकामा आपत्ति प्रकट गरे । उनले आगामी १० महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलको प्रमुख सरुवा गरेर आयोजनालाई पछाडि धकेल्न लागिएको त होइन भन्ने प्रश्नपनि गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले केही दिन पहिले गौतमबुद्ध विमानस्थलका आयोजना प्रमुख ओम शर्मालाई निजगढ विमानस्थलमा सरुवा गरेको थियो । सांसद शाहले विमानस्थल निर्माण सकिएपछि आयोजना प्रमुखलाई सरुवा गर्दा हुनेमा अहिले नै गरिनाले आशङ्का जन्माएको उल्लेख गरे ।


क्लिकमान्डु