प्रतिनिधि सभा समितिका सभापतिको निर्वाचन सर्यो, अब १७ गते हुने




काठमाडौँ । प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिए ।

बैठकमा उनले निर्वाचनको मिति संशोधनसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको जानकारी गराए । प्रतिनिधिसभा मातहत १० विषयगत समिति छन् ।

यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले भुक्तानी तथा फछ्र्यौट विधेयक २०७५ सदनसमक्ष पेश गरे । अर्थमन्त्री डा. खतिवडाले भुक्तानीलाई सरल, सहज, सुरक्षित र छिटोछरितो बनाउन विधेयक ल्याइएको जानकारी दिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ४ गते सोमबार दिनको १ बजे बस्नेछ । रासस


क्लिकमान्डु