प्रदेश ३ का मुख्यमन्त्री पौडेल भन्छन्– बजेट छर्ने तरिका अब पुरानो भो



काठमाण्डौ । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले परम्परागत बजेट बनाउने तरिकालाई तोडेर नयाँ मोडलबाट बजेट बनाएमात्र गरेका काम देखिने बताएका छन् ।

तीन नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आयोजनामा राष्ट्रिय स्तरका योजना र प्रदेशस्तरका योजना अबका दिनमा कसरी सञ्चालन गर्ने भन्ने बिषयमा आयोजित छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

परम्परागत बजेट छर्ने तरिका तोडेर मात्र काम गरिने उनले बताए । अब काम गर्नका लागि काम गर्ने भन्दापनि रिजल्ट निस्कने गरी काम गर्न जरुरी रहेको छ, अब केन्द्र, प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्ने बेला आएको बताउँदै उनले भने–अहिले पनि प्रेसरका भरमा बजेट छुट्याउने कामहरु भईरहेका छन् ।

अब पुरै सिस्टम परिबर्तन गरेर मात्र काम सकिने भएको बताउँदै उनले भने– अहिलेपनि कर्मचारीको मानसिकता परिबर्तन भएको छैन ।

कार्यक्रममा तीन नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्टले संघीय सरकार र प्रदेश सरकारले अहिले पनि गाउँपालिका र नगरपालिकाले जसरीनै काम गर्नेगरी बजेट छुट्याएको बताए ।

कार्यक्रममा तीन नम्बर प्रदेशका भौतिक योजान तथा निर्माण मन्त्री केशब स्थापितले अब ससाना योजानमा पैसा छरेर भन्दापनि ठूला योजनाका काम गरिनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय योजान आयोगका उपाध्यक्ष डाक्टर पुष्प कँडेलले यस प्रदेशबाट आएको सुझाबका आधारमा आफुहरुले काम गर्नका लागि तयार रहेको बताए । प्रदेशका योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देबकोटाले प्रोजेक्ट बैक बनाएर काम गरिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा तीन नम्बर प्रदेशका उपसभामुख राधिका तामाङ, आर्थिक मामिला तथा योजान मन्त्री कैलाश ढुंगेल, उद्योग, वातावरण, पर्यटन तथा वनमन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकटेल, प्रमुख सचिब आनन्दराम ढुंगाना, राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फँुयाल, बिभिन्न मन्त्रालयका सचिबहरु लगायतकाको सहभागिता रहेको थियो ।


क्लिकमान्डु