काठमाडौँ महानगरसँग गुनासो भए ११८० नम्बरमा फोन गर्नुस्




काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरबासीको गुनासो तथा समस्या सम्बोधनका लागि पैसा नलाग्ने नम्बर सञ्चालनमा ल्याएको छ ।

महानगरपालिका प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीका अनुसार ११८० नम्बरको निशुल्क नम्बरमा महानगरबासीले आफ्ना गुनासा टिपाउन तथा सुझाव दिन सक्नेछन् ।

महानगरले ‘गुनासो व्यवस्थापन कल सेन्टर’ नाम दिएको छ ।

महानगरले गुनासो सुन्नका लागि शाखा अधिकृत कृष्णप्रसाद चापागाई र शाखा अधिकृत मधु पाण्डेलाई सम्पर्क अधिकृत समेत तोकेको छ ।

महानगरले सो कुराको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेल्लो सरकारलाई समेत जानकारी गराएको छ ।

तर पछिल्लो दिनमा महानगरले जनताको दैनिक समस्याका बारेमा कुनै पनि सुनुवाई नगरेको, फोहोर नउठाएको, राजधानीमै बस्ती डुब्दा समेत कुनै सुनुवाई नगरेको भन्दै चौतर्फी आलोचना भएको छ ।

बुधबार मात्रै महानगर भित्रैको अनामनगर, तिनुकुने क्षेत्रमा बाढी पसेर महानगरबासी आहत भएका थिए । सरकारले न्यूनतम सेवा समेत नदिएको भन्दै स्थानीयबासी आक्रोशित भएको बेला कल सेन्टरको उपादेयता के हुने बारेमा समेत प्रश्न उठेको छ ।


क्लिकमान्डु