धितोपत्र बोर्ड र नेप्सेबीचको विवाद आजभोलिमा टुंगिदै
काठमाडौं । नेपाल धितोपत्र बोर्ड र नेप्सेबिच भएको कम्पनी सूचीकरण सम्बन्धी विवाद टुङ्गिने अवस्थामा पुगेको छ ।
बोर्डले सार्वजनिक गरेको विनियमावलीमा नेप्सेमा कम्पनी सूचीकरणको शुल्क घटाएको भन्दै नेप्सेले केहीदिनदेखि सूचीकरण सेवा नै ठप्प पार्दै आएको हो । आजभोलि मै बैठक बसेर विवाद टुंग्याइने बताइएको छ ।
‘आज बैठक बस्छ, कारणबस आज बैठक बस्न सकेन भने भोलिसम्म सो असहमतिको हट्ने छ’-बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले क्लिकमान्डूसंग भने ।
यता, नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रवक्ता मुराहरी पराजुली भन्छन्– ‘बैठकले बजार सुहाउँदो निर्णय गर्न आवश्यक छ, यसमा हामी आशावादी समेत छौं ।’ पराजुलीले बोर्डको निर्णय बजार सुहाउँदो नभएकाले समर्थन जनाउन नसकेको समेत खुलासा गरे ।
पहिलेको नियमावलीमा समावेश भएको कुरालाई नयाँ विनियमावलीमा ६० प्रतिशत मूल्य समायोजन गर्ने कुरा थप गरेकोमा नेप्सेले बोर्डप्रति खेद व्यक्त गर्दै आएको छ ।
नयाँ सूचीकरण विनियमावलीमा ५० करोड चुक्तापूंजी भएका कम्पनीले ०.०५ प्रतिशत र सो भन्दामाथि भएका कम्पनीले ०.०२५ प्रतिशत शुल्क तिर्नु पर्ने व्यवस्था रहेको छ । नेप्सेले ०.०७ प्रतिशतदेखि ०.०४० प्रतिशतसम्म सूचीकरण शूल्क लाग्ने खालको विनियमावली बोर्डमा पठाएको थिायो ।
यस अघि कम्पनीहरुले ०.२० प्रतिशतदेखि ०.०७५ प्रतिशतसम्म सूचीकरण शूल्क बुझाउनु पथ्र्याे । पहिले कायम रहेको नियमावली अनुसार १ करोडसम्मका कम्पनीले ०.२० प्रतिशत, ५० करोडसम्मकोले ०.१५ प्रतिशत, १ अर्बदेखि माथिकाले ०.०६५ प्रतिशत शुल्क सेयर सूचीकरणकालागि बुझाउनु पथ्र्यो । हाल बोर्डले ६० प्रतिशत शुल्कमा कटौति गरेको हो ।
यसरी नेप्से र बोर्डबीचमा नै विवाद देखिएपछि लगानीकर्ता समेत अन्यौलमा परेका छन् ।