किसानका समस्यालाई गम्भीरताका साथ लिन सरकारलाई आग्रह



काठमाडौं । नेपाल कृषि उत्पादन तथा बजारिकरण सञ्जालले किसानको समस्यालाई गम्भीरताका साथ लिन सरकारलाई आग्रह गरेको छ ।
७ सुत्रीय माग राख्दै सञ्जालले किसानको समस्यालाई गम्भीरताका साथ लिन सरकारलाई आग्रह गरेको हो ।

सञ्जाले यसअघि साउन ९ गते किसान आयोगमा १४ सुत्रीय माग पेश गरेको थियो । गोलभेंडा लगायतका हरियो तरकारीको मूल्य २ रुपैयाँपनि नपाएपछि राहत तथा क्षतिपूर्ति माग गर्दै किसानहरु किसान आयोग पुगेका थिए ।

लिखित माग पेश गरेको हप्तौं बितिसक्दापनि सरकारले राहत नदिएपछि सञ्जालले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो । सचिवालयको पूर्ण बैठक बस्दा सरकारलाई दिएको सुझाव कार्यान्वयन हुन नसकेको आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए ।

किसानका समस्या समाधानका लागि गठन भएको आयोगले यस्ता जल्दाबल्दा समस्यामा सहयोग गर्न नसकेकोप्रति उनले आफु चिन्तित भएको बताए ।
आयोगमा थप माग पेश गर्दै किसान सञ्जालका प्रतिनिधि मण्डलले कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल र सचिव युवकध्वज जीसीलाई अलग–अलग भेट गरेको थियो ।

सञ्जालले किसानहरुका तत्कालीन माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको थियो । मन्त्री खनालले किसानहरुका माग पूरा गर्न थप ६ वटा कृषि उपजलाई भारत निकासी गर्न क्वारेन्टाईनका लागि सुचिकृत गर्न पत्राचार गरेको बताए ।

मन्त्री खनालले पराराष्ट्र मन्त्रालय मार्फत एउटा टोली बनाएर रोकिएको गोलभेंडा लगायत कृषि उपज निकासीका लागि काम थालिएको जानकारी दिए ।


क्लिकमान्डु