बिम्स्टेक सम्मेलनका कारण सर्यो फर्निचर एक्स्पो, असोज ४ देखि हुने



काठमाण्डौ । ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ फर्नेक्स आगामी असोज ४ गतेदेखि हुने भएको छ । यसअघि भदौ १४ गतेदेखि हुने भनिएको एक्स्पो बिम्स्टेक सम्मेलन सोही दिनदेखि आयोजना हुने भए पछि पर सारिएको हो । एक्स्पोमा सहभागि हुनका लागि ९० प्रतिशत स्टल बुकिङ्ग भएको छ ।

एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अनुसार बिम्स्टेक सम्मेलन भदौ १४ गतेदेखि काठमाण्डौंमा हुन लागेकाले फर्नेक्सको मिति परिवर्तन गरिएको हो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास(बिम्स्टेक) को चौंथो शिखर सम्मेलन आगामीभदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ ।

एक्सपोको टाइटल स्पोन्सर जेम फ्लोरीले गर्ने भएको छ । संघका अनुसार स्वदेशी तथा विदेशी प्रदर्शकहरुले ९० प्रतिशत स्टल बुकिङ्ग गरिसकेका छन् । अब भौतिक तयारीको योजना तीब्र बनाईने एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए ।

एक्स्पोको छैठौं संस्करण फर्नेक्स २०१८ लाई होम डेकोर विशेष बनाइने आयोजकको भनाई छ । बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने विश्वास आयोजकको छ ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले बताएको छ ।

असोज ८ गतेसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहने बताइएको छ ।


क्लिकमान्डु