घर बनाउने वा गाडी किन्ने हो ? नेपाल बैंकले दिन्छ साढे १० प्रतिशतमै ऋण




काठमाडौं । घर बनाउने/किन्ने वा गाडी किन्ने सोच बनाउनु भएको छ भने तपाइ सस्तो ब्याजमा कसले ऋण देला भनेर खोजिरहनु भएको हुन सक्छ ।

अर्थमन्त्रीदेखि नीति निर्मातासम्मले घर जग्गा र गाडीलाई अनुत्पादक क्षेत्र भनेर बैंक तथा वित्तीय संस्थाबाट जाने कर्जामा कडाइ गरिरहेको समाचार पनि सुन्नु भएकै होला । तर नेपाल बैंकले घर बनाउन वा किन्न तथा गाडी किन्नको लागि साढे ३ प्रतिशतभन्दा पनि सस्तो ब्याजदरमा ऋण दिदैछ ।

बैंकले साउन २२ गते मंगलबार प्रकाशित गरेको ब्याजदर अनुसार गाडी किन्न सबैभन्दा सस्तो ब्याजदर ३.४६ प्रतिशत छ भने घर किन्न वा बनाउनको लागि दिने ऋणको ब्याजदर पनि त्यति नै छ ।

तर, बैंकले प्रकाशित गरेको यति ब्याजदरमा नै तपाइले ऋण पाउनु हुने भने होइन । बैंकले यस्तो ब्याजदरमा आफ्नो बेस रेट जोड्ने छ । नेपाल बैंकको बेस रेट ७.०३ प्रतिशत छ । यहाँ उल्लेख गरिएको ब्याजदरमा वेस रेट जोडेर तपाइले ब्याज तिर्ने हो ।

कति ब्याज छ अटो लोनमा ?
बैंकले ३.४६ प्रतिशत ब्याजदरमा दिने भनेको प्रोफेसनल अटो लोनमा हो । यस्तो कर्जामा बार्षिक ३.४६ प्रतिशतदेखि ४.०७ प्रतिशत ब्याज लाग्ने बैंकले जानकारी दिएको छ ।

बैंकले ल्याएको नेपालक्ष्मी योजनाको अटो लोनको ब्याजदर पनि यति नै हो । ब्यवसायिक प्रयोजनका सवारी साधान किन्नको लागि ३ देखि ५ बर्षे अवधिको कर्जामा बैंकले ५.४६ प्रतिशतदेखि ६.०७ प्रतिशत बार्षिक ब्याज लिने जानकारी दिएको छ ।

ब्यवसायिक प्रयोजनको लागि ५ बर्षे अवधिको निजी सवारी साधन खरिद गर्नको लागि ऋण लिदा बार्षिक ५.४६ प्रतिशतदेखि ६.०७ प्रतिशत ब्याज तिर्नुुपर्छ । ५ बर्षभित्रमा कर्जा तिरिसक्ने गरी निजी गाडी किन्नको लागि बैंकले दिने कर्जामा तपाइले बार्षिक ४.४६ देखि ५.०७ प्रतिशत ब्याज तिर्नुपर्नेछ भने ७ बर्ष भित्रमा तिर्ने गरी निजी सवारी साधान किन्न ऋण लिने हो भने बार्षिक ५.४६ देखि ६.०७ प्रतिशत ब्याज तिर्नुपर्ने नेपाल बैंकको भनाइ छ ।

होम लोनमा कति पर्छ ब्याज ?
नेपाल बैंकबाट ५ बर्षमा तिरिसक्ने गरी घर कर्जा लिनुहुन्छ भने बार्षिक ब्याज ३.४६ प्रतिशतदेखि ४.०७ प्रतिशत लाग्छ । यति नै ब्याज दर प्रोफेसनल होम लोन र नेपालक्ष्मी योजना अन्तरगतको होम लोनमा पनि छ ।

१० बर्षे अवधिको घर कर्जा दिदा नेपाल बैंकले ४.१० प्रतिशतदेखि ४.७१ प्रतिशतसम्म ब्याज लिनेछ । यस्तै १५ बर्ष र सोभन्दा बढीको घरकर्जा दिदा नेपाल बैंकले ४.९६ प्रतिशतदेखि ५.५७ प्रतिशत ब्याज लिने गरेको छ ।

(यसअघि प्रकाशित समाचारमा भुलबस बेस रेट नजोडी शिर्षक राखिएकोमा पछि सच्याइएको हो)


क्लिकमान्डु