कोरिया जान लाग्ने हवाइ भाडा करिब १३ हजार घट्यो, ८ हजार कामदारलाई राहत




काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जाने नेपालीले राहत पाउने भएका छन् । कोरिया जादा लाग्ने हवाइ भाडा घटेका कारण उनीहरुले राहत पाउने भएका हुन् ।

कोरिया जाने कामदारले तिर्दै आएको हवाइ भाडा प्रतिब्यक्ति ११८ अमेरिकी डलरले घटेको बैदेशिक रोजगार विभागको एपीएस कोरिया शाखाले जानकारी दियो ।

कोरिया जाने कामदारको लागि हवाइ भाडामा वोलपत्र आव्हान गर्दा पहिलाको भन्दा सस्तो परेको शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।

‘पहिला कोरिया जाने कामदारले प्रतिब्यक्ति ५२९.७५ अमेरिकी डलर तिर्दै आएका थिए, नयाँ बोलपत्रमा प्रतिब्यक्ति ४११.७५ अमेरिकी डलर भाडा कायम गर्ने प्रस्ताव स्वीकृत भएको छ, अब प्रतिब्यक्ति ११८ अमेरिकी डलर सस्तो पर्छ,’ प्रवक्ता भण्डारीले क्लिकमाण्डूसँग भने ।

यसअघि युनिभर्सल टुर्स एण्ड ट्राभल्सले कोरिया जाने कामदारलाई प्रतिब्यक्ति ५२८.७५ अमेरिकी डलरमा एकतर्फी हवाइ टिकेट उपलब्ध गराउँदै आएको थियो । नयाँ बोलपत्रमा सिलिङ टुर्स एण्ड ट्राभल्सले प्रतिब्यक्ति ४११.७५ अमेरिकी डलरमा एकतर्फी टिकेट उपलब्ध गराउने बोलपत्र पेश गरेको थियो ।

शाखाले सिलिंकले प्रस्ताव गरेको बोलपत्र स्वीकृत गरेको हो । अबको केही दिन पछि नै सिलिंकसँग सम्झौता गरिने र नयाँ भाडादर लागू हुने भण्डारीले जानकारी दिए ।

आजको अमेरिकी डलरको विनियम दर अनुसार प्रतिब्यक्ति ११८ अमेरिकी डलर कम पर्दा कोरिया जान प्रतिब्यक्ति १२ हजार ९८० रुपैयाँ सस्तो पर्ने भएको छ । आजको अमेरिकी डलरको विनियम दर प्रतिडलर ११० रुपैयाँ छ ।

नेपालबाट रोजगारीको लागि प्रतिबर्ष करिब ८ हजार नेपाली दक्षिण कोरिया जाने गरेका छन् । प्रतिब्यक्ति १२ हजार ९८० रुपैयाँ हवाइ भाडा सस्तो पर्दा कोरिया जाने नेपालीको बार्षिक १० करोड ३८ लाख ४० हजार रुपैयाँ जोगिनेछ ।


क्लिकमान्डु