नयाँ शहरमा कहाँ के भयो ? प्रदेश सरकारले बनाउन सक्ला त ?



काठमाडौं । सरकारले देशभर ४० वटा नयाँ सहर बनाउने योजना अगाडि सारेको छ । देशभर निर्माण गर्ने भनिएका ४० वटा सहरको काम भने सुस्त गतिमा भईरहेको छ ।

नयाँ सहर अयोजना समन्वय कार्यालय अन्र्तगत अहिले मध्यपहाडी लोकमार्गमा १२ वटा सहर, हुलाकी मार्ग र तराई मधेशमा १५ वटा सहर तथा १३ वटा स्मार्ट सिटी गरी ४० वटा सहर निर्माण गर्ने तयारी भईरहेको छ ।

गत वर्षसम्म संघीय सरकारले नै यी सहर निर्माणको जिम्मा लिएको थियो । तर, अब चालु आर्थिक वर्षदेखि भने स्थानीय सरकारलाई नै सहर निर्माणमा अग्रसर गराईने भएको छ । संघीय सरकारले जग्गा अधिग्रहण र डिपिआर तयार पार्नमा मात्रै सहयोग गर्ने भएको छ ।

नयाँ सहर आयोजना समन्वय केन्द्रका निर्देशक पराग कायस्थका अनुसार नयाँ सहर आयोजना समन्वय केन्द्रले अब नयाँ सहरको डिजाईन र प्रगति विवरण मात्रै हेर्नेछ । कायस्थका अनुसार चालु आर्थिक वर्षको बजेटमापनि केन्द्रलाई बजेट विनियोजन गरिएको छैन ।

सहर निर्माणका लागि प्रदेश सरकारलाई अगाडि सारिएको छ । केन्द्र सरकारले दिएको बजेट कम भयो भनेर गुनासो गरिरहेका प्रदेश सरकारले अर्बौँ लगानीका नयाँ सहर निर्माण गर्न सक्नेमा भने शंका उत्पन्न भएको छ ।

संघीय सरकारले नै नयाँ सहर निर्माण हेरिरहेको समयमापनि हुलाकी लोकमार्ग र तराई मधेशका १५ वटा सहरको एकीकृत(इन्टिग्रेटेड) विकास योजना तयार पार्नको लागि परामर्शदाता नियुक्त मात्रै गर्न सकिएको छ ।

त्यस्तै, १३ वटा स्मार्ट सिटीको मास्टर प्लान तयार पार्नको लागि परामर्शदाता नियुक्त गरिएको छ ।

४० वटा सहरमध्ये मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग र तराई मधेशका सहर निर्माणमा धेरै प्रगती नदेखिएपनि मध्यपहाडी लोकमार्गका १२ वटा सहर निर्माणमा भने केही काम भएको छ । मध्यपहाडी लोकमार्गका सहर २०९० भित्र निर्माण गरी बस्ती बस्न योग्य बनाइसक्ने लक्ष्य सरकारले लिएको छ ।

मध्यपहाडी मार्गका सहरमा कम्तिमा १ लाख र बढीमा ३ लाख जनसंख्या बसोबास गर्न सक्ने गरी निर्माण गर्न लागिएका सहरमा भने बसपार्क, सिटी पार्क, ढल र एकीकृत सरकारी भवनहरुको निर्माण प्रक्रिया अगाडि बढाईएको कायस्थले बताए ।

सरकारले आर्थिक वर्ष २०६७÷६८ मा मध्यपहाडी मार्गमा सहर बनाउने प्रस्ताव गरेको थियो ।

१२ शहर, कहाँ के भयो ?

फिदिम: फिदिम बजारमा साढे तीन किलोमिटर सडक तथा नाला निर्माण गरिएको छ । एकीकृत सरकारी भवनको अवधारणा अनुसार सरकारी भवन निर्माणको कार्य सम्पन्न भएको छ । गणेशमान पार्क निर्माण तथा सुधार गरिएको छ । रमिते भ्यू टावर निर्माण गरिएको छ । फिदिम बसपार्क निर्माण र सुधार गरिएको छ ।

बसन्तपुर: बसन्तपुरमा तरकारी तथा फलफूल संकलन केन्द्र निर्माण भएको छ । सार्वजनिक शौचालय, पार्क निर्माण गरिएको छ । त्यसैगरि, १२ किलोमिटर सडक तथा नालि निर्माण गरिएको छ । बसन्तपुर बजारमा २६ वटा सोलार बत्ति जडान गरिएको छ ।

खुर्कोट एकीकृत सरकारी भवनको अवधारणा अनुसार सरकारी भवन निर्माण अन्तिम चरणमा पुगेको छ । ६ किलोमिटर ग्राभेल सडक निर्माण गरिएको छ । ५ सय मिटर ढलान सडक निर्माण गरिएको छ । १० किलोमिटिर सडकको स्तरोन्नती गरिएको छ । ४ किलोमिटर नाला निर्माण गरिएको छ । २ वटा कज वे निर्माण गरिएको छ भने एउटा खेल मैदान निर्माण गरिएको छ । यस बाहेक १ सय २२ वटा सोलार बत्ति जडान गरिएको छ ।

बैरेनी गल्छी: कृषी उपज संकलन केन्द्र निर्माण भएको छ । बैरेनीमापनि एकीकृत सरकारी अवधारणा अनुरुप सरकारी भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २२ किलोमिटर सडकको स्तरोन्नती गरिएको छ । १ सय ५० वटा सोलार बत्ति जडान गरिएको छ ।

डुम्रे भन्सार: डुम्रे भन्सारमा ४.३ किलोमिटर कालोपत्रे सडक निर्माणम गरिएको छ । ५ किलोमिटर ग्राभेल सडक निर्माण गरिएको छ । २ वटा सार्वजनिक शौचालय निर्माण गरिएको छ । तरकारी तथा फलफूल बजार निर्माण गरिएको छ । सार्वजनिक महत्वका कार्यक्रमको लागि मञ्च निर्माण गरिएको छ । १ सय ६० वटा सोलार बत्ति जडान गरिएको छ भने नयाँ सहर आयोजनाको मेट्रियल टेस्ट ल्याबपनि निर्माण गरिएको छ । सरकारी भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

बुर्तिवाङ: ६ सय ५० मिटर ढलान सडक निर्माण गरिएको छ । १.२ किलोमिटर नाला निर्माण सम्पन्न भएको छ । ४ सय ९२ मिटर लामो बाटोमा सिँढी निर्माण गरिएको छ । १ सय३८ वटा सोलार बत्ति जडान गरिएको छ ।

राकम कर्णाली: २ सय ६० मिटर सडक कालोपत्रे गरिएको छ । १ सय ७८ वटा सोलार बत्ति जडान गरिएको छ । ३.७३ किलोमिटर सडक स्तरोन्नती गरिएको छ । २ वटा मसानघाट प्रतिक्षालय निर्माण गरिएको छ ।

साँफेबगर: २.८ किलोमिटर सडक कालोपत्रे गरिएको छ । खानेपानी अयोजना निर्माण सम्पन्न भएको छ । १ सय ६८ वटा सोलार बत्ति जडान गरिएको छ ।

पाटन: ३.२ किलोमिटर सडकको स्तरोन्नती गरिएको छ । ३२ वटा सोलार जडान गरिएको छ । सरकारी भवन निर्माण अन्तिम चरणमा पुगेको छ । खुला मञ्च निर्माण अन्तिम चरणमा पुगेको छ । ल्याण्डफिल साईटको लागि १.५ किलोमिटर लामो सडक निर्माण गरिएको छ । २ सय मिटर फुटपाथ निर्माण गरिएको छ ।

मौलापुर: १३ किलोमिटर सडक कालोपत्रे गर्नको लागि टेण्डर आह्वान गरिएको छ । बसपार्क निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । पिकनिक स्पट निर्माणका लागि टेण्डर गरिएको छ । यस बाहेक २.५ किलोमिटर सडक ढलान गरिएको छ ।

कटरिया: ७ सय ५० मानिस क्षमताको विवह भवनको जग राख्ने काम सकिएको छ । ८ किलोमिटर सडक कालोपत्रे गरिएको छ । हाटबजार निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । पोखरी सौन्दरीकरणको काम ४० प्रतिशत सम्पन्न भएको छ । ३ सय मिटर सडक ढलान कार्य गरिएको छ ।

महागढीमाई: १.६ किलोमिटर सडक ढलान गरिएको छ । मन्दिर परिसरमा सुधार गरिएको छ ।


पुष्प दुलाल