कुन बैंकका सिइओको तलब कति ? (सूचि सहित)



काठमाडौं । नेपालमा राम्रो तलब खानेमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी पर्छन् । आकर्षक सुविधा अन्य क्षेत्रको जागिरको तुलनामा बैंकमा बढी हुन्छ ।

वाणिज्य बैंकमा सबैभन्दा बढी तलब प्रमुख कार्यकारी अधिकृत(सिइओ) नै हुने भयो । वाणिज्य बैंकले प्रकाशित गरेको विवरण अनुसार सरकारी बैंकका सिइओको तलब कम छ । निजी क्षेत्रका बैंकका सिइओको तलब बढी छ ।

सिइओले बैंकबाट मासिक तलबको अतिरिक्त विभिन्न सुविधा पाएको हुन्छ । करिब १ करोड रुपैयाँ पर्ने गाडी बैंकले सिइओलाई उपलब्ध गराएको हुन्छ । बैंकहरुको विवरण अनुसार कुन बैंकले कति तलब दिएको छ । यसको सूचि हामीले तयार पारेका छौ ।

बैंकहरुको वार्षिक विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे सबैभन्दा बढी तलब खाने सिइओमा परेका छन् ।

आर्थिक वर्ष २०७३/७४ वार्षिक प्रतिवेदनमा नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ३६ लाख रुपैयाँ सिइओलाई तलब तथा सुविधा अन्तर्गत दिएको देखिन्छ । कम तल दिनेमा राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले तलब सुविधा वापत २७ लाख रुपैयाँ लिएका छन् ।

यस्तो छ बैंकको सिइओको तलब सुविधा

कृषि विकास बैंक

कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा लिलाप्रकाश सिटौला कार्यरत छन् । आर्थिक वर्ष २०७३/७४ को विवरणमा कृषि विकास बैंकले सिइओलाई ४० लाख रुपैयाँ तलब तथा सुविधा दिएको छ ।

बैंक अफ काठमाण्डू

विवरण प्रकाशित हुँदा बैंकमा अजय श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत थिए । अहिले प्रमुख कार्यकारी अधिकृत सोहनदेव पन्त छन् । बैंकले सिइओकोको लागि १ करोड १८ लाख खर्च गरेको छ । यो आधारले पन्तको तलब १ करोड १८ लाखभन्दा बढी रहेको सहजै अनुमान गर्न सकिन्छ ।

सेन्चुरी बैंक

सेन्चुरी बैंकले प्रमुख कार्यकारी अधिकृतलाई १ करोड १६ लाख रुपैयाँ तलब सुविधा दिएको थियो । आर्थिक वर्ष २०७३/७४ वार्षिक प्रतिवेदन प्रकाशित हुँदा सिइओ रहेका अनुनमणी तिमिल्सिना अहिले बैंकमा छैनन् । अहिले तुलसीराम गौतम सिइओ छन् । बैंकमा गौतमले १ करोडभन्दा बढी रकम सुविधा लिएको देखिन्छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकको आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृतलाई १ करोड ५० लाख रुपैयाँ सुविधा दिएको देखिन्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी हुन् । उनी बैंकमा स्थापनाकालदेखि नै कार्यरत छन् ।

सिभिल बैंक

बैंकको पछिल्लो वार्षिक विवरणमा प्रमुख कार्यकारी अधिकृतलाई १ करोड ४४ लाख तलब तथा सुविधा दिएको देखिन्छ । तर,बैंकमा त्यो बेला रहेका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन अहिले छैनन् । अहिले रहेका सिइओ रहेका गोविन्द गुरुङले १ करोडभन्दा बढी तलब सुविधा लिएका छन् ।

एभरेष्ट बैंक

भारतीय सयुक्त लगानीको एभरेष्ट बैंकमा सिइओ पन्जाव नेशनल बैंकले पठाउने गर्छ । अहिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा सोमेश्वर महासेठ छन् । उनले वार्षिक तलब सुविधा वापत १ करोड ३१ लाख रुपैयाँ लिएको देखिन्छ ।

ग्लोबल आइएमई

ग्लोबल आइएमई बैंकको आर्थिक वर्ष २०७३/७४ को विवरणमा सिइओलाई १ करोड ५९ लाख रुपैयाँ तलब दिएको थियो । त्यो विवरण प्रकाशित हुँदा बैंकमा प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली कार्यरत रहेका थिए । अहिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल रहेका छन् । उनको तलब १ करोडभन्दा बढी रहेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकपनि विदेशी लगानीमा संचालिन बैंक हो । पाकिस्तानको हबिब बैंकको लगानी रहेको बैंकमा प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा कार्यरत रहेका छन् । बैंकले सिइओको लागि १ करोड ४० लाख रुपैयाँ तलब सुविधा दिएको देखिन्छ ।

जनता बैंक

आर्थिक वर्ष २०७३/ ७४ को विवरण प्रकाशित हुँदा बैंकमा कुमार लम्साल प्रमुख कार्यकारी अधिकृत थिए । उनले त्यो बेला ६६ लाख रुपैयाँ तलब बैंकबाट लिएको विवरणमा देखिन्छ । अहिले बैंकमा परशुराम क्षेत्री सिइओ छन् । उनको तलब १ करोड रेसियोमा रहेको देखिन्छ ।

कुमारी बैंक

कुमारी बैंकले लामो समय प्रमुख कार्यकारी अधिकृत बिना बैंक संचालन गर्यो । कामू रहेका राजिव गिरीले ७० देखि ८० लाखसम्म सुविधा पाएका थिए । अहिले सिदार्थ बैंक छाडेर सुरेन्द्र भण्डारी प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका छन् । सिदार्थमा उनले पाएको सुविधा हेर्दा कुमारीले उनलाई १ करोड २० लाखसम्मको तलब सुविधा दिएको अनुमान गर्न सकिन्छ ।

लक्ष्मी

लक्ष्मी बैंकले सिइओलाई १ करोड ३७ लाख तलब दिएको आर्थिक वर्ष २०७३÷७४ को विवरणमा उल्लेख छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ कार्यरत रहेका छन् ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले प्रमुख कार्यकारी अधिकृतलाई १ करोड २० लाख तलब दिएको आर्थिक वर्ष २०७३/ ७४ को विवरणमा देखिन्छ । बैंकमा अहिले प्रमुख कार्यकारी अधिकृत परिवर्तन भएका छन् । सुमन शर्माले अहिले बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका छन् । उनले १ करोडभन्दा बढी तलब सुविधा लिएको अनुमान गर्न सकिन्छ ।

मेगा बैंक

मेगा बैंकले आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदनमा १ करोड ६१ लाख रुपैयाँ तलब सुविधा दिएको देखिन्छ । त्यो बेला बैंकमा अनिल शाह प्रमुख कार्यकारी अधिकृत थिए । अहिले बैंकको नेतृत्व अनुपमा खुन्जेलीले गरेकी छन् । उनले १ करोडभन्दा बढी तलब लिएको अनुमान गर्न सकिन्छ ।

नबिल बैंक

नबिल बैंकको आर्थिक वर्ष २०७३/७४ को विवरण आउदा र अहिले प्रमुख कार्यकारी अधिकृत परिवर्तन भइसेको छ । त्यो बेला शसिन जोशी सिइओ थिए । अहिले अनिल शाह छन् । जोशीले २ करोड ६ लाख रुपैयाँ बैंकबाट तलब सुविधा लिएका थिए । तलब घट्ने भएपछि सेन्चुरी नगएका शाहले २ करोडभन्दा बढी नबिलबाट तलब तथा सुविधा लिन्छन् ।

नेपाल बैंक

सरकारी लगानीको नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृतलाई ३९ लाख रुपैयाँ तलब दिएको छ । बैंकमा देवेन्द्रप्रताप शाह प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका छन् ।
नेपाल बंगलादेश(एनबी) बैंक

एनबी बैंकपनि विदेशी लगानीको बैंकको हो । बैंकमा प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुंगाना कार्यरत छन् । ढुंगानाले आर्थिक वर्ष २०७३/७४ मा १ करोड ४१ लाख रुपैयाँ तलब सुविधा लिएका छन् ।

एनसीसी बैंक

एनसीसी बैंकको पछिल्लो विवरण प्राप्त छैन । बैंकमा रमेश अर्याल प्रमुख कार्यकारी अधिकृत छन् । उनको तलब सुविधा १ करोडको रेसियोमा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक प्रमुख कार्यकारी अधिकृतलाई सबैभन्दा बढी तलब दिने बैंकमा पर्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले २ करोड ३६ लाख रुपैयाँ तलब सुविधा वापत बुझेका छन् ।

एनआईसी एशिया

एनआईसी एशियामा अहिले प्रमुख कार्यकारी अधिकृत छैन । प्रमुख कार्यकारी अधिकृत रहेका लक्ष्मण रिसालले राजिनामा दिएपछि रोशन न्यौपानले कामू प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकलाई चलाइरहेका छन् । आर्थिक वर्ष २०७३/ ७४ वार्षिक प्रतिवेदन सार्वजनिक हुँदा बैंकमा रिसाल प्रमुख कार्यकारी अधिकृत थिए । उनले १ करोड २० लाख रुपैयाँ तलब सुविधा लिएको देखिन्छ ।

एसबिआई बैंक

भारतीय एसबिआई बैंकको सयुक्त लगानीमा स्थापना भएको एसबिआई नेपालमा सिइओ भारतबाट आउने गर्छन् । अहिले अनुकुल भट्चार्य सिइओ छन् । उनले १ करोड ५० लाख रुपैयाँ तलब सुविधा वापत बुझेको देखिन्छ ।

एनएमबि बैंक

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी छन् । उनले १ करोड ६५ लाख रुपैयाँ तलब सुविधा बुझेको देखिन्छ ।

प्रभु बैंक

प्रभु बैंकले सिइओलाई तलब सुविधा वापत ९६ लाख रुपैयाँ देखिन्छ । बैंकमा अशोक शेरचन सिइओको रुपमा कार्यरत छन् ।

प्राइम बैंक

प्राइम बैंकले सिइओलाई ९६ लाख रुपैयाँ तलब सुविधा दिएको छ । बैंकमा नारायणदास मानन्धर प्रमुख कार्यकारी अधिकृत छन् ।

सानिमा बैंक

सानिमा बैंकले सिइओलाई १ करोड ११ लाख रुपैयाँ तलब सुविधा दिएको छ । बैंकको सिइओमा भुवन दाहाल कार्यरत छन् ।

सिदार्थ बैंक

सिदार्थ बैंकको आर्थिक वर्ष २०७३÷७४ को वार्षिक प्रतिवेदन सार्वजनिक हुँदा सिइओ रहेका सुरेन्द्र भण्डारी अहिले बैंकमा छैनन् । त्यो बेला उनले बैंकबाट १ करोड १२ लाख रुपैयाँ तलब लिएका छन् । अहिले बैंकमा शम्भुनाथ गौतम छन् । उनले पनि १ करोडभन्दा बढी तलब लिएका छन् ।

स्टाण्र्डर्ट चाटर्ड बैंक
विदेशी लगानी स्टाण्र्डर्ट चाटर्ड बैंकले पनि विदेशीलाई सिइओ नियुक्त गर्छ । अहिले बैंकको सिइओ जोसेफ सिल्भानुस छन् । उनले २ करोड १० लाख रुपैयाँ तलब सुविधा लिएको देखिन्छ ।

सनराइज बैंक

सनराइज बैंकले सिइओलाई १ करोड ३३ लाख रुपैयाँ तलब सुविधा दिएको देखिन्छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बर्जाचार्य कार्यरत छन् ।

राष्ट्रिय वाणिज्य बैंक

प्रकाशित विवरण अनुसार सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक सिइओलाई कम तलब दिने बैंकमा पर्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले २७ लाख रुपैयाँ तलब सुविधा लिएको देखिन्छ ।


क्लिकमान्डु