मुख्यमन्त्री गुरुङ भन्छन्–धार्मिक प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा आयोजित एक कार्यक्रममा समाजसेवी सुुशीलकुमार गोशलीको परिवारद्वारा निर्मित अष्टभूजाकारको शिवानन्द कुण्ड, पञ्चधारा र दुई फलेचाको आज उद्घाटन गर्दै उनले धार्मिक क्षेत्रलाई प्रदेशको समृद्धिमा उपयोग गरिने बताए ।
मुलुकमा मानवतासँग जोडिएको समृद्धिको खाँचो रहेको औंल्याउँदै मुख्यमन्त्री गुरुङले समाजका विद्यमान असमानता, विभेद, गरिबीको अन्त्य, जेष्ठ नागरिकको सम्मान आवश्यक रहेको उल्लेख गरे ।
गण्डकी प्रदेश भौतिक, सामाजिक, संस्कृतिक हिसाबले अब्बल रहेको बताउँदै उहाँले सभ्यता र संस्कृतिको संरक्षण गर्दै त्यसको माध्यमबाट पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
समाजसेवी सुशीलकुमार गोशलीले बुबा स्वामी शिवानन्द गोशली बाबाको स्मृतिमा ७० लाखको लागतमा उक्त आशुतोष भगवान शिवस्वरुप शिवलिंग सहितको पञ्चधार, फलेचा निर्माण गरी विन्ध्यवासिनी क्षेत्र विकास समितिलाई हस्तान्तरण गरे ।
प्रदेशसभा सदस्य मीना गुरुङले प्रदेश सरकार अहिले आवश्यक कानून निर्माणमा जुटेको बताउँदै त्यसका लागि सबै क्षेत्र र समुदायको सहयोग अपरिहार्य रहेको बताइन् ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विन्ध्यवासिनी बाटिकामा निर्माण गरिएको शिवानन्द कुण्डसहितको भौतिक संरचनाले यस क्षेत्रको आकर्षण बढाएको बताए ।
संस्कृतिविद्ध एवं समितिका सचिव तीर्थ श्रेष्ठले मन्दिरको गुठीको २६ रोपनी जग्गामा एक सयजना विद्यार्थीको लागि आवासीय व्यवस्था सहितको भवन निर्माणमा जुटेको जानकारी दिए ।
व्यावसायिक शिक्षा प्रदान गरिने उक्त विद्यापिठ निर्माणका लागि कूल रु १३ करोड लगानी हुने बताउँदै उनले त्यसका लागि प्रदेश सरकारबाट यसै आर्थिक वर्षमा एक करोड २५ लाख विनियोजन भएको बताए । रासस